दार्चुला । हिमाली जिल्ला दार्चुलामा सहुलियत पसलबाट १३ लाखभन्दा बढी मूल्यको खाद्यान्न बिक्री वितरण भएको छ ।
दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाले जिल्ला सदरमुकाम खलंगाबाट सो खाद्यान्न बिक्री बितरण गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाका शाखा प्रमुख हर्कराज उपाध्यायका अनुसार हालसम्म सहुलियत पसलबाट १३ लाख ७२ हजार ३४० रुपैयाँ मूल्यको खाद्यान्न बिक्री भएको बताएका छन ।गत भदौ ३० गतेबाट संञ्चालनमा आएको सहुलियत पसलबाट चामल, बिक्री सुरु गरिएको उनले बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाबाट हालसम्म १४५ क्वीन्टल चामल बिक्री भएको छ ।खाद्यान्न बिक्रीमा शाखासँग तीन प्रकारको चामल रहेकोमा उपभोक्ताको चाहनाअनुसार सबै खाले चामल बिक्री भइरहेको शाखा प्रमुख उपाध्यायले बताए ।शाखाको गोदामा ३५१ क्वीन्टल चामल अझै मौज्दात रहेको छ ।
अहिले दैनिक २६ क्वीन्टल चामल बिक्री वितरण भइरहेको बताइएको छ। त्यसैगरि अपी हिमाल गाउँपालिकाको खण्डेश्वरी डिपो कार्यालयबाट समेत चामल विक्री वितरण भइरहेको छ।
अपी हिमाल गाउँपालिकाको खण्डेश्वरी डिपो कार्यालयबाट अहिले सम्म १६० क्वीन्टल चामल बिक्रीबाट १४लाख ५० हजार मूल्यको खाद्यान्न बिक्री वितरण भएको शाखा कार्यालय दार्चुलाका शाखा प्रमुख उपाध्यायले जानकारी दिए ।
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको निर्णयअनुसार चाडपर्व लक्षित गरि चामलमा प्रतिकेजी पाँच रुपियाँ छुटको ब्यवस्था छ । सहुलियत मूल्य पसल संञ्चालनमा आएपछि अहिले जिल्लाका ग्राहकले २१सय५० रुपैँयामा स्टिम जिरा मसिनो चामल पाइरहेका छन ।
यस्तै अरुवा मोटा चामल र अरुवा मोटा पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल १४ सय ५०मा विक्रीकालागि राखिएको कार्यालयले जनाएको छ । यसअघि स्टिम जिरा मसिनो चामलको मूल्य रु २ हजार २ सय रुपैँया, अरुवा मोटा चामल र अरुवा मोटा पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामलको मूल्य रु १ हजार ५५० रुपैयाँ राखिएको थियो ।