दार्चुला । दार्चुलामा वडातहबाट नै अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस व्यवस्था सुरू गरिएको छ ।
जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिकाका ६१ वटा वडाहरुमध्ये हालसम्म जिल्लाका ३३ वटा वडाहरुबाट नागरिकताको सिफारिस व्यवस्था सुरू गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
प्रशासन कार्यालय दार्चुलाले एक सूचना सार्वजनिक गर्दै जिल्लाका ६१ वटा वडाहरुमध्ये हालसम्म ३३ वटा वडाहरुमा अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस व्यवस्था सुरू गरिएको जनाएको छ ।
जसअनुसार जिल्लाको नौगाड गाउँपालिकाका ६ वटा वडाहरुमध्ये सबै वडाबाट अहिले नागरिकताको सिफारिस व्यवस्था सुरू भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
जिल्लाको मालिकार्जुन गाउँपालिकाका ८ वटा वडाहरुमध्ये ७ वटा, महाकाली र शैल्यशिखर नगरपालिकाका समान ९÷९ वडामध्ये समान ५÷५ वडाबाट नागरिकताको सिफारिस व्यवस्था सुरू भएको बताइएको छ ।
यस्तै जिल्लाको दुहँु गाउँपालिकाका ५ वटा वडामध्ये २ वटा,लेकम गाउँपालिकामा ६ वटा वडामध्ये ३ वटा,व्यासँ गाउँपालिकामा ६ मध्ये १ वटा र मार्मा र अपीहिमाल गाउँपालिकाका समान ६÷६ वडामध्ये समान २÷२ वडाबाट अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस व्यवस्था सुरू गरिएको प्रशासनले जनाएको छ ।
कार्यालयका सेवा प्रवाह र सेवाग्राहीहरूको सहजताका लागि प्रविधिमैत्री बनाउने क्रममा नागरिकताको सिफारिस अनलाइन प्रणालीबाट दिन सुरु गरिएको प्रजिअ पौडेलले बताए । यसले सेवाग्राहीलाई कागजात नमिलेर प्रशासन कार्यालयमा पुगेर खाली हात फिर्ता हुने झन्झटको अन्त्य भएको छ’, उनले भने ।
अनलाइन प्रणाली सरू भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह भएको प्रशासनका कर्मचारीहरुले पनि बताएका छन ।
यसअघि कुनै कागज अपुग भएमा जिल्ला प्रशासन पुगेर फर्किनुपर्ने झन्झट हुने गरेकामा आजभोली सबै कागजपत्र पुगेर मात्रै नागरिकता बनाउन आउने सेवाग्राही रहेको प्रशासनले जनाएको छ ।