दार्चुला। आज राती लाग्ने मालिकार्जुन गाउँपालिका–३ मा रहेको कैलपाल मन्दिर चौड र शैल्यशिखर नगरपालिका– ७ स्थित बन्तोली जात्राको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
दार्चुलाका विभिन्न मठमन्दिरहरूमा जात्रा लाग्ने भएकाले सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जात्रामा आपराधिक घटनाहरू हुन नदिन सादा पोशाकमा समेत प्रहरी खटाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डिएसपी)गौरव महतले जानकारी दिए ।
उनका अनुसार बन्तोली क्षेत्रमा लाग्ने जात्राका लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक किशोर एरीको नेतृत्वमा २० जना तथा अन्य प्रहरी युनिटहरूबाट प्रहरी टोली खटाउने तयारी भएको बताए ।
मालिकार्जुन गाउँपालिका वडा–३ मा रहेको कैलपाल मन्दिर चौडमा लाग्ने रात्रीकालीन जात्रामा २५ जना प्रहरी परिचालन गरिने भएको छ । कैलपाल मन्दिर चौडमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक विक्रम शाहीको कमान्डमा २५जना सुरक्षाकर्मी खटाउने तयारी भएको प्रहरी नायब उपरीक्षक एवम् (डिएसपी) महतले जानकारी दिए ।
जात्राको समयमा हुन सक्ने जाँडरक्सी ,क्षमता भन्दा बढी यात्रु ओसार पोसार तथा जुवा तास नियन्त्रणका लागि प्रहरीले निगरानी बढाउने जनाएको छ । कहिँकतै जुवा तास खेलेको तथा खेलाइएको पाइएमा तत्काल उनीहरूलाई कानुन अनुसार कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।
यस्तै जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका नागरिक सहायता कक्ष र यात्रु सहायता कक्षबाट पनि प्रहरीले आफ्नो सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । लागूऔषध तथा मदिराजन्य पदार्थलाई मध्यनजर गर्दै प्रहरीले पसलहरुमा खोजतलास र निगरानी र चेकजाँच गर्ने जनाएको छ ।
शंकास्पद महिला तथा पुरुषका झोला चेकजाँच गरी यद्यपि मदिरा तथा लागुपदार्थ भेटिएमा कडा कारबाही गरिने बताइएको छ । रात्रीकालीन जात्रालाई व्यवस्थित गर्न अढाई सय सुरक्षाकर्मी खटाईने प्रशासनले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सादा पोशाकका अन्य सुरक्षाकर्मी पनि परिचालन हुने बताइएको छ । यस्तै कार्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन धाममा लाग्ने जात्रालाई जिल्लाकै ठूलो जात्राका रुपमा लिइन्छ । सो जात्रामा सुरक्षाकर्मीहरु बढि परिचालन गरिने बताइएको छ । विगतमा मदिरा विक्री वितरणमा कडाइ गरेकै कारण लेकम क्षेत्रका जात्रा शान्तिपूर्वक भएको भन्दै योपटक सोहि निर्णय दोहार्याउनुपर्नेमा स्थानीयबासीहरुले जोड दिएकाछन् ।