बैतडीमा तिहारको दिनदेखि बेपत्ता विष्ट मृत फेला

बैतडी । बैतडीको पाटन नगरपालिका–६ सुकेलीका बेपत्ता भएका अन्दाजी ५८ वर्षीय प्रेमसिंह विष्ट मृत फेला परेका छन् ।

मृत फेला परेका विष्ट तिहारको दिनदेखि बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देब बडूले बताए । तिहारको दिन (बिहीबार) दिउँसो ४ बजेतिर घरबाट सिउडे जान्छु भनी हिँडेका विष्ट शुक्रबार मृत फेला परेका उनले बताए ।

बिहीबार अबेरसम्म घर नफर्केपछि घरपरिवारले विष्टको खोजीका लागि ईलाका प्रहरी कार्यालय पाटनमा खबर गरेका थिए ।

खोजी गर्दै जाँदा दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ अन्नाडी मोडबाट करिब एक सय मिटर तल विष्टको शव फेला परेको हो । विष्टले चलाएको सुपप्र ०१–०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बडूले बताए ।

मृतकले चलाएको मोटरसाइकल सँगै फेला परेकाले उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.