निर्वाचनको वातावरण बनाउन सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच आज वार्ता हुँदै

काठमाडौँ– प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्ता सँग वार्ता गर्ने भएको छ ।

छलफलका लागि सरकारले आज त्रिपक्षीय बैठक आयोजना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे हुने बैठकका लागि सरकारले राजनीतिक दल र जेनजी समूहलाई आमन्त्रण गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल सिर्जना गर्न पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना गरिएको बताए ।

उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षहरूसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए ।

यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक भएका थिए ।

यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए। लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचनको वातावरण तयार गर्ने अपेक्षा सरकारको छ ।

Leave A Reply

Your email address will not be published.