दार्चुलाका दुई विद्यार्थीको परिवारलाई इजरायल सरकारले आजीवन सहयोग गर्दै

दार्चुला । हमास आक्रमणमा ज्यान गुमाएका दार्चुलाका दुई विद्यार्थीका परिवारलाई इजरायलसरकारले आजीवन सहयोग गर्दै आएको छ ।

हमासको आक्रमणमा परेर ज्यान गुमाएका दार्चुलाको लेकम गाउँपालिका–५ का दिपेशराज बिष्ट र मालिकार्जुन गाउँपालिका–४ का लोकेन्द्रसिंह धामीको परिवारलाई इजरायली सरकारले आजीवन सहयोग गर्दै आएको हो ।

लेकम गाउँपालिका–५ का दिपेशराज बिष्टको परिवारलाई इजरायल सरकारले आर्थिक सहयोग गर्दै आएको स्वगीय बिष्टका मामा नाता पर्ने लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीले जानकारी दिए । बिष्टको घरमा पनि इजरायली राजदूत पुगेर परिवारलाई सान्त्वना दिएको बताइएको छ ।

यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ का लोकेन्द्रसिंह धामीको घरमा पनि इजरायली राजदूतसहितको टोली पुगेको वडा अध्यक्ष एवं मृतक धामीका दाजु नाता पर्ने धनसिंह धामीले जानकारी दिए । मृतक धामीका श्रीमती र आमाबुबालाई इजरायली सरकारले आर्थिक सहयोग गरिरहेको उनले सुनाएका छन ।

मृतक धामीका एक छोरा र एक छोरी छन् । उनीहरूलाई पनि १८ वर्ष पूरा नहुँदासम्म आर्थिक सहयोग गर्ने राजदूतले बताएको र सोहीअनुसार सहयोग गरिरहेको पारिवारिक स्रोतले जनाएको छ । लोकेन्द्र धामीकी पत्नीलाई मालिकार्जुन गाउँपालिकाले वडा कार्यालयमा जागीर दिएको छ । इजरायल सरकारले मृतक नेपाली विद्यार्थीहरूलाई इजरायली नागरिक झै व्यवहार गरेको अनुभूति भएको मृतकका आफन्तहरूले बताएका छन् ।

उनीहरूले इजरायली सरकारले देखाएको सद्भाव र उदारताको प्रसंशा गरेका छन् । २०८० असोज २० गते हमासको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सो घटनामा बन्धक बनाइएका विपिन जोशीको हमासकै नियन्त्रणमा रहदा मृत्यु भएको थियो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.