दार्चुला। दार्चुलाको अपीहिमाल गायउँपालिकालाई नेपालको ग्रामीण पर्यटन र पर्वतारोहण क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेको भन्दै नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उत्कृष्ट गाउँपालिकाका रूपमा सम्मान गरेको छ ।
विश्व पर्यटन दिवस–२०२५ को अवसरमा आयोजित विशेष कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई सम्मानपत्र प्रदान गरेका हुन् । गाउँपालिकाले पछिल्ला वर्षहरूमा ‘अर्गानिक अपि’ अभियान, एग्रो–टुरिजम प्रवद्र्धन, तथा स्थानीय संस्कृति र प्राकृतिक सम्पदाको संरक्षणमार्फत ग्रामीण पर्यटनमा नयाँ पहिचान बनाएको छ ।
हिमाली क्षेत्रको स्वच्छ वातावरण, परम्परागत पाहुना सत्कार र स्थानीय परिकारको प्रयोगले पर्यटकहरूलाई आकर्षित गर्न सफल भएको छ । यसअघि पनि केही दिनअघि, विश्व खाद्य दिवस–२०२५ को अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागले अपिहिमाल गाउँपालिकालाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट पालिकाका रूपमा सम्मान गरेको थियो ।
त्यस अवसरमा गाउँपालिकाले विषादीरहित खेती, स्थानीय अन्न र फलफूल उत्पादनमा योगदानका कारण ‘अर्गानिक अपि’ अभियानमार्फत राष्ट्रिय पहिचान स्थापित गरेको थियो । अध्यक्ष भक्तसिंह ठेकरे बोहराले दोहोरो सम्मान गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक र स्थानीय पर्यटन व्यवसायीहरूको संयुक्त प्रयासको नतिजा भएको बताए ।
उनका अनुसार,“हामीले कृषि, वातावरण र पर्यटनलाई एकसाथ अघि बढाएका छौं। यसले अपिहिमाललाई ‘अर्गानिक र टुरिजम गाउँपालिका’को रूपमा स्थापित गरेको छ ।” साथै उनले भविष्यमा ‘एक घर–एक होमस्टे’ अभियानमार्फत पर्यटन र रोजगारी सिर्जनामा थप योगदान दिने योजना रहेको जानकारी दिए ।
