नेपालको लिपुलेक क्षेत्रमा भारतले गर्‍यो अल्ट्रा म्याराथन,नेपाली पक्षलाई छैन औपचारिक जानकारी

दार्चुला । भारतको उत्तराखण्ड राज्य स्थापनाको २५औँ वार्षिकोत्सवका अवसरमा आइतबार दार्चुलाको उत्तर–पश्चिमी क्षेत्रमा अल्ट्रा म्याराथन दौड आयोजना भएको छ । नेपाली पक्षलाई जानकारी नदिई भारतले दौड आयोजना गरेको हो ।

१५ हजार फिट उचाइमा भारत सरकारले अल्ट्रा म्याराथन आयोजना गरेको इन्डो–तिब्बतियन बोर्डर पुलिस आइटिबिपीका महानिरीक्षक आइजी सञ्जय गुञ्ज्यालले जानकारी दिएका छन् । ६० किलोमिटरको अल्ट्रा म्याराथनमा सात सय धावकले प्रतिस्पर्धा गरेका थिए । उच्च हिमाली क्षेत्रमा ६० किलोमिटर दुरी चार घण्टा ४४ मिनेटमा पूरा गर्दै दिगम्बर सिंह पुरुषतर्फ पहिलो भएका छन् ।

महिलातर्फ पौडी गडवालकी मीनाक्षी नेगी ५ घण्टा ४३ मिनेटमा ६० सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । अल्ट्रा म्याराथनमा भारतका २२ राज्य र विदेशीले भाग लिएका थिए । जसमध्ये भारतका सात सय धावक सहभागी थिए । नेपाली भूमिमै अल्ट्रा म्याराथन आयोजना भए पनि आफूलाई जानकारी नै नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।

‘लिपुलेक क्षेत्रमा आयोजना भएको दौडबारे औपचारिक रूपमा कुनै जानकारी छैन, कार्यक्रमका लागि नेपाली पक्षसँग कुनै समन्वय भएको छैन,’ पौडेलले भने । भारत सरकारका सडक परिवहन राज्यमन्त्री अजय टमटा प्रमुख अतिथिका रूपमा सहभागी थिए । भारतको मुम्बईबाट पहिलोपटक सहभागी हुन आएकी महिला धावकले आफू १० किमि दौडिन आएको र सबैभन्दा राम्रो लोकेसन रहेको बताइन् ।

मध्य प्रदेशबाट आएका राजेश पोरवाल ६० किमिको अल्ट्रा रनिङमा सहभागी भए । ६० वर्षभन्दा माथि उमेर समूहमा दौडिएका उनले दक्षिण अफ्रिका, मलेसियामा म्याराथनको अनुभव रहेको बताए । भारतका विभिन्न क्षेत्रबाट आएका धावक पाँचदेखि ६० किमिसम्मको दूरीको दौडमा सहभागी भए ।

उनीहरूका लागि गुन्जी, नाबीलगायतका गाउँ र आर्मी क्याम्पमा व्यवस्थापन गरिएको थियो । सहभागीका लागि नाबी गाउँमा सांस्कृतिक कार्यक्रम तथा सहभोज कार्यक्रम आयोजना गरिएको थियो । कैलाश क्षेत्रमा अल्ट्रा म्याराथन आयोजनाले पर्यटनलाई एक्सपोज गर्ने सकिने आयोजकले जनाएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले कैलाश क्षेत्रमा पहिलो हाई अल्टिच्युडको अल्ट्रा रन सञ्चालन भएको बताए । ‘कैलाशमा भएको ऐतिहासिक अल्ट्रा दौडले साहस र समर्पणको उदाहरण मात्र होइन, सीमावर्ती क्षेत्रमा साहसिक पर्यटन र खेलकुद संस्कृतिलाई पनि नयाँ दिशा दिन्छ,’ मुख्यमन्त्री धामीले भने । लिपुलेक क्षेत्रमा पिथौरागढ जिल्लाका जिल्ला मजिस्ट्रेट डिएम आशिषकुमार भटगानी, धारचुलाका एसडिएम जितेन्द्र बर्मालगायत पुगेका थिए ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी पौडेलले अल्टा म्याराथन दौडका लागि नेपाली पक्षसँग कुनै समन्वय नभएको बताए । ‘हामीलाई औपचारिक जानकारी छैन, तर कार्यक्रमबारे अनौपचारिक रूपमा सूचना पाएका छौँ,’ उनले भने, ‘१०–१२ दिनदेखि तयारी भइरहेको थियो । तर, कुनै समन्वय भएन ।’ नयाँ पत्रिका

Leave A Reply

Your email address will not be published.