दार्चुला । दार्चुलामा आज र भोली साना बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइन लागिएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका अुनसार विहीबार र शुक्रबार जिल्लाभरीका साना बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइन लागिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख वीरेन्द्र भट्टका अनुसार जिल्लामा ८ हजार ९२८ जना बालबालिकालाई भिटामिन ‘ए’ र ८ हजार ५८ जना बालबालिकालाई जुकाको औषधी खुवाइन लागेको उनले बताए ।
दुई दिन बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन आवश्यक औषधी र स्वास्थ्यकर्मी परिचालन गरिसकिएको बताइएको छ ।
सरकारले प्रत्येक वर्ष यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य कार्यालयले उल्लिखित सङ्ख्याका बालबालिकालाई पुग्ने गरेर सबै स्थानीय तहमा भिटामिन ‘ए’ र जुकाको औषधी पुर्याइसकेको पनि जनाएको छ ।
भिटामिन ‘ए’ खुवाउनुपर्ने लक्षित बालबालिकाका लागि ९ हजार ९५० क्याप्सुल र ८ हजार ५९८ ट्याबलेट जुकाको औषधी जिल्लाका नौ वटै स्थानीय तहका सबै स्वास्थ्य शाखामा पठाइसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लामा छ महिनादेखि पाँच वर्षमुनिका बालबालिका र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन ३८० जना महिला स्वास्थ्य स्वयंसेविका र कुपोषणको स्क्रिनङ गर्न चार स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो ।