दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा ९ मा रहेको गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सोमबार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विद्यालय भवन निर्माणको लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतिय राजदुताबास र नगरपालिकाबिच समझदारी पत्रमा हस्ताक्षर भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टले जानकारी दिए ।
भारत सरकारको नेपाल स्थित दुताबासको ९० प्रतिशत र शैल्यशिखर नगरपालिकाको १० प्रतिशत लगानीमा गोकुलेश्वर माध्यमिक विद्यालयको अत्याधुनिक विद्यालय भवन निर्माणको लागि त्रिपक्षिय सम्झौता भएको उनले बताए ।
भारतिय राजदुताबासको हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्टस् परियोजना अन्तरग निर्माण हुने विद्यालय भवनको लागि मन्त्रालयको तर्फबाट उप–सचिव प्रलाद्ध कुमार कार्की, दुताबासको तर्फबाट काउन्सलर अभिनास कुमार सिंह र शैल्यशिखर नगरपालिकाको तर्फबाट नगर प्रमुख विजय सिंह धामीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
डिपिआर सहित कुल १९ करोड ३३ लाख ४८ हजार १ सय ४० रुपैँया लागत रहेकोमा विद्यालय भवन निर्माणको लागि १५ करोड तीन लाख १८ हजार तीन सय १८ रुपैँया भारत सरकारले उपलब्ध गराउने र १ करोड ५० लाख नगरपालिकाले व्यहोर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको बताइएको छ ।
यसरी भारत सरकारको ९० प्रतिशत र नगरपालिकाको १० प्रतिशतमा विद्यालय भवन निर्माण हुनेछ । ठेक्का सम्झौता भएको १५ महिना भित्र निर्माण कार्य सम्पन्न गर्नेगरि सम्झौता भएको नगरपालिकाले जनाएको छ ।
परियोजना अन्तरगत ४ वटा भवन निर्माण हुने छन् । जसमा कक्षाकाठा, प्रयोगशाला, पुस्तकालय, छात्राबास, चमेनागृह, र कबडहल रहने छ भने घेर पर्खाल, बगैँचा लगायतका संरचना पनि निर्माण हुने शैल्यशिखर नगरपालिकाले जनाएको छ ।