लेकमको सर्मोली कोटस्थित बनेको टेलिकमको टावर सञ्चालनमा आएन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा निर्माण भएको नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छैन ।

निर्माण सम्पन्न भएको करिब ६ महिना हुँदासमेत टावरमा आवश्यक उपकरण जडान नहुँदा सञ्चालन नभएको हो ।

लेकम गाउँपालिका–१ सर्मोली (कोटस्थित) नेपाल टेलिकमको टावर सञ्चालनमा नआउँदा स्थानीयले गुणस्तरीय टेलिफोन तथा इन्टरनेट सेवाबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन् ।

टावर निर्माण सम्पन्न भएको ६ महिना भइसकेको छ, तर टेलिकमले बेवास्ता गर्दा टावर अहिलेसम्म सञ्चालनमा नआएको लेकम गाउँपालिकाका स्थानीयहरूको गुनासो छ ।

टेलिकमको टावर सञ्चाचलन नहुँदा पानी परेको बेला, तथा रातिको समय फोन र नेट नचल्ने समस्या रहेको छ। दिनमा समेत फोन नलाग्ने र कुराकानी गरेको नसुनिने समस्या छ ।

नेपाल टेलिकमले टावर निर्माण गरेर सञ्चालनमा ल्याउन ध्यान नदिएको सर्वसाधारणको गुनासो छ । तर नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण गुरुङले टावर छिट्टै सञ्चालनमा ल्याउने बताए ।

उनले अहिले मालिकार्जुन गाउँपालिकामा रहेको टावर सञ्चालन गर्न उपकरण जडानको काम भइरहेको बताएका छन् ।

मालिकार्जुन टावरको काम सकिनासाथ लेकमको टावरमा उपकरण जडान गरिने गुरुङले बताए। उनले ढिलोमा मंसिर १५ गतेभित्र लेकम–१ सर्मोलीको टावर सञ्चालनमा ल्याउने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.