एकीकृत समाजवादीको धनकुटा जिल्ला कमिटी एमाले समाहित

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटाले नेकपा (एमाले)मा पूर्ण रूपमा समाहित हुने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै बहुमत सदस्यले एमालेमा समाहित हुने निर्णय गरेको उल्लेख छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।

जिल्ला कमिटीले भनेको छ– ’आज मिति २०८२ साल कार्तिक २८ गते शुक्रवारका दिन विघटित नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी धनकुटाको बैठक बसी तत्कालीन नेकपा (माओवादी) र हाम्रो पार्टी लगायत विभिन्न राजनीतिक दलहरुका बीचमा एकता भई नयाँ पार्टी गठन भए पश्चात उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा बैठकमा गम्भिर छलफल भएको छ ।

छलफल पश्चात विभिन्न वस्तुगत परिस्थितिहरुलाई समेत मध्यनजर गर्दै नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटा नयाँ गठन भएको पार्टी निर्माणको पक्षमा सामेल नभई नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाहको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा पुर्ण रुपले समाहित हुने निर्णय गरिएको व्यहोरा सम्पुर्णमा जानकारीको लागि अनुरोध छ ।’

जिल्ला कमिटीले जेनजी आन्दोलन पश्चात उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थिति र विकसित राष्ट्रिय राजनीतिक घटनाक्रम, यसबाट सिर्जित चुनौतिहरु र नेपाली जनताको परिवर्तन एवम् सम्वृद्धिको आकांक्षा पुरा गर्न जिम्मेवार, शसक्त र जनउत्तरदायी राष्ट्रिय राजनीतिक शक्तिको आवश्यक्ता महशुस एमालेमा समाहित हुने निर्णय गरेको उल्लेख गरेको छ ।
विज्ञप्तिमा तत्कालिन एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अर्जुन राई, उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जेबी राईले हस्ताक्षर गरेका छन् ।

Leave A Reply

Your email address will not be published.