दार्चुला । नेपालको दार्चुला जिल्लामा मात्रै बसोबास रहेको सौका समुदाय आफ्नो थातथलोबाट सदरमुकाम खलङ्गा बसाइँ सर्न थालेका छन् ।
परम्परागत रूपमा विगतदेखि नै गर्मीयामको छ महिना व्यास गाउँपालिका–१, तिङ्कर र छाङरु गाउँमा बस्ने सो समुदाय हिउँदको छ महिना सदरमुकाम खलङ्गामा बसाइँ सर्ने गर्दछन् ।
बसाइँसराइ गर्नुलाई सौका समुदायको भाषामा ‘कुञ्चा’ सर्नु भनिन्छ। हिउँदेयाम सुरु भएसँगै चिसो छल्न थातथलोबाट सदरमुकाम खलङ्गा झर्न लागेको तिङ्करका स्थानीय दानसिंह तिङ्करीले जानकारी दिए ।
मङ्सिर १ गते सदरमुकाम खलङ्गाका लागि हिँडेका तिङ्कर गाउँका पाँच परिवार छाङरुस्थित सीतापुल हुँदै भारतको बाटोबाट नेपाल आउन लागेको उनले बताए। नेपालको बाटोबाट कुञ्चा सर्न तत्काल सम्भव नभएको उनले बताए।
उनले भने, “गाउँमा चिसो बढेको छ, तिङ्करको पाँच परिवार आयौँ, बाँकी परिवार मङ्सिरको ७ गतेतिर आउँछन् । ” गत वैशाख दोस्रो साता गाउँ उक्लेको कुञ्चा सदरमुकाम खलङ्गा झर्न लागेको हो । सौका समुदायका बालबच्चासहितको परिवार र वस्तुभाउसहित कुञ्चा सर्ने गर्दछन् । सदरमुकाम खलङ्गाबाट २८ कोस टाढा रहेको तिङ्कर र छाङरुका मानिस भारतको बाटो हुँदै पैदल कुञ्चा सर्ने गर्दछन् ।
छाङरुका स्थानीय भने मङ्सिरको १५ पछि मात्रै बसाइँ सर्ने बताइएको छ। कुञ्चा सर्दा भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले बाटोघाटो तथा सडक निर्माण गर्नुपर्ने यहाँका स्थानीयले माग गरेका छन् ।
सौका समुदायको कुञ्च भारतको बाटो हुँदै सदरमुकाम आउने भएपछि आफूले भारतको स्थानीय प्रशासनसँग समन्वय र सहयोगका लागि आग्रह गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए।
सदरमुकाम खलङ्गाबाट तिङ्कर गाउँ पुग्न छ दिनको पैदलयात्रा गर्नु पर्दछ। व्यासको छाङरु गाउँमा १२५ र तिङ्कर गाउँमामा ७० परिवारको बसोबास रहेको व्यासी सौका समाज दार्चुलाले जनाएको छ ।
सौका समुदायका मानिसले (रं) भाषा बोल्ने गर्दछन् । वर्षभरि एक मात्रै खेती हुने तिङ्कर र छाङरुका स्थानीय उवा, नप्पल, फापर र आलुलगायतका अन्नबाली लगाउने गर्दछन् ।