प्रतिनिधिसभा निर्वाचन: दार्चुलामा थपिए दुई हजार ६०८ जना नयाँ मतदाता

दुईवटा मतदान केन्द्र स्थानन्तरणका लागि निर्वाचन आयोगमा सिफारिस

दार्चुला । जिल्लामा २ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता अभियान सञ्चालन गरिएकोमा जिल्लामा २ हजार ६०८ जना नयाँ मतदाता थपिएका हुन् ।

गत असोज ९ देखि मङ्सिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकामा कार्यालयमा पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार कार्यालयमै पुगेर १ हजार ४१० जनाले नाम दर्ता गराएको बताएका छन् ।

त्यसमध्ये महिलाको सङ्ख्या ६४६ र पुरुषको सङ्ख्या ७६४ जना रहेका छन् । यस्तै राष्ट्रिय परिचयपत्रमार्फत १ हजार १ सय ९८ जनाले नाम दर्ता गराएका छन् ।

राष्ट्रिय परिचयपत्र बनाएकाले सिधै अनलाइनमार्फत नाम दर्ता सक्ने व्यवस्था गरिएपछि मतदातालाई सहज भएको कार्यालयले जनाएको छ ।

यसैगरी ४१९ जनाले ठाउँसारी र ८६ जनाले त्रुटि सच्याउनका लागि कार्यालयमा निवेदन दिएको सूचना अधिकारी जोशीले बताए ।

दार्चुलामा दुईवटा मतदान केन्द्र स्थानन्तरणका लागि निर्वाचन आयोगमा सिफारिस गरिसकिएको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले मतदान केन्द्र स्थान्तरणको माग गदैँ आयोगमा सिफारिस गरिएको छ ।

जिल्लामा एकवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ ।

Leave A Reply

Your email address will not be published.