दार्चुला । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते बेलुकी जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ६ जना कैदीबन्दी अझै फर्किएका छैनन् ।
कार्यालयमा सम्पर्कमा नआएकाहरुमध्ये जबरजस्तीकरणीका ३ जना रहेका छन् । १ जना सहिद बन्धक तथा अपहण, १ जना सवारी ज्यान र १ जना सवारी ज्यान अंगभग सम्बन्धीका गरी ६ जना कैदीबन्दी अझै कारागार नआएको कारागार दार्चुलाले जनाएको छ ।
कारागार कार्यालय प्रमुख सरिता चन्दका अनुसार हालसम्म कारागार सम्पर्कमा नआएकामध्ये २ जना दार्चुला जिल्लाभित्रको र ४ जना जिल्लाबाहिरको रहेको बताएका छन् । फरार रहेकाहरूको प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले फरार रहेका कैदीबन्दीहरुलाई नियन्त्रणमा लिनका लागि मातहतका सबै जनशक्तिले खोजीलाई तीव्रता दिएको बताएका छन् ।
कारागार व्यवस्था विभागले असोज २० गतेसम्म कारागार फर्कन गरेको अनुरोधको समयभित्र ६५ जना फर्किएका थिए । सम्पर्कविहीन भएकाको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइमा पत्राचार गरिएको छ । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएकालाई कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ ।
फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने प्रहरीले चेतावनी समेत दिएको छ । जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते बेलुकी जिल्ला कारागार दार्चुलाबाट ७१ जना कैदीबन्दी फरार भएका थिए ।