दार्चुलाको जोलजीवी मेलामा ‘जुम्ली घोडा’को व्यापार

दार्चुला । जुम्लाबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाको जोलजीवी मेलामा ‘जुम्ली घोडा’ ल्याइएको छ । जुम्ली घोडाको व्यापारका लागि केन्द्र मानिने जोलजीवी मेलामा जयकृष्णले बिक्रीका लागि छ वटा घोडा ल्याउनुभएको हो ।

गत कात्तिक ९ गते घरबाट १४ वटा घोडासहित पैदल हिँडनुभएका उहाँले २२ दिनपछि मङ्सिर २ मा जोलजीवी मेला पुगेको बताए । १४ वटा घोडामध्ये उहाँले आठ वटा घोडा बाटोमै बिक्री गरेको जानकारी दिनुभयो । विगतको जस्तो घोडाको व्यापार नभएको उहाँको गुनासो छ ।

भारतको पिथौरागढ जिल्लाको पहाडी क्षेत्र अल्मोडा, बागेश्वर, दारमालगायत क्षेत्रका स्थानीय घोडाका मुख्य ग्राहक रहेको उहाँले बताउनुभयो । पछिल्लो समय ग्रामीण बस्ती सडक सञ्जालसँग जोडिने क्रम जारी रहेका कारण घोडाको व्यापार विगतभन्दा अहिले घटेको उहाँले बताउनुभयो ।

नेपालको दार्चुलाका उत्तरी क्षेत्रमा बसोबास गर्ने सौका समुदायका मानिसले घोडा खरिद गर्ने गर्छन् । सडक सुविधा नपुगेका व्यासको छाङरु र तिङ्करका बासिन्दाको यातायातको साधन घोडा हो । १५ वर्षअघि एउटै मेलामा सयौँको सङ्ख्यामा घोडा बेचिने गरे पनि पछिल्लो समयमा १५/१६ वटा घोडा मात्रै बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

विगत ४० वर्षदेखि आफू जोलजीवी मेलामा घोडाको व्यापार गर्न थालेको उहाँले बताउनुभयो । उहाँको परिवार पुस्तौँदेखि नै घोडाको व्यापारमा संलग्न रहेको उहाँले जानकारी दिनुभयो । “घोडा बेचेर एक वर्षमा सात लाखसम्म कमाइ हुन्छ,” उहाँले भन्नुभयो ।

घोडाको व्यापारमा खान, बस्न र घोडा चराउन समस्या हुने गरेको जुम्लाकै अर्का व्यापारी आनन्द धरालाले बताउनुभयो । “विगतमा जोलजीवीस्थित घोडेबगडको जमिन पूरै बाझो हुने भए पनि अहिले पैसा तिरेर पनि ठाउँ पाइँदैन,” उहाँले भन्नुभयो ।

जुम्लाका घोडा व्यापारीले दार्चुलाको जोलजीवी, बर्दियाको राजापुर र दाङको पर्सेनीमा घोडाघोडीको व्यापार गर्दै आइरहेका छन् । राम्रो घोडाको मूल्य एक लाख २० हजार तथा मध्यम किसिमको घोडाको मूल्य ५० देखि ६० हजारसम्म बिक्री हुने व्यापारी बताउँछन् ।

नेपाल–भारत सीमामा हुने दुई साता लामो प्रसिद्ध यस वर्षको जोलजीवी मेला मङ्सिर १० गते समाप्त हुँदै छ । जलेश्वर महादेवको मन्दिरमा लाग्ने लामो अवधिको मेला घरेलु उत्पादनका लागि प्रख्यात मान्निछ ।
नेपाल र भारतका लाखौँ सर्वसाधारणले मेलामा स्थानीय उत्पादनको खरिदबिक्री गर्ने गरेका छन् । जोलजीवी मेलाको प्रमुख आकर्षणमा नेपाली घोडा, तिब्बती घरेलु सामान हो । गोरखापत्र

Leave A Reply

Your email address will not be published.