दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा- २ मा रहेको सरस्वती माध्यमिक विद्यालय सेलिचामामा पढाइ मेलाको आयोजना गरिएको छ । शैक्षिक गुणस्तर सुधार गर्नका लागि सोमबार सामुदायिक ग्रामिण विकास समाज नेपाल र गुड नेवर्स इन्टरनेशनल नेपालको सहकार्यमा आयोजना गरिएको पढाइ मेला भब्यताका साथ सम्पन्न गरिएको हो ।
विद्यार्थीहरूमा पठन सिप, पठन बानी र स्वअध्ययनको संस्कार विकास गर्ने उद्देश्यले पढाइ मेलाको आयोजना गरिएको सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाका शिक्षा अधिकृत उदय बोहराले जानकारी दिए । पढाई मेलामा कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरू, अभिभावक तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमले बालबालिकाको पठन पाठ्न क्षमता बढाउनुका साथै स्थानीय स्रोतबाट शैक्षिक सामग्री निर्माणलाई प्रोत्साहन गर्ने, बालबालिकाको समग्र विकास र प्रतिभा पहिचानका लागि पारिवारिक वातावरण निर्माणमा अभिभावकलाई संलग्न गराउने लक्ष्य राखेको थियो ।
कार्यक्रम अन्तर्गत स्मरण खेल, कवितार कथा पूरा गर्ने खेल, अभिभावक कथा वाचन, स्थानीय सामग्री संग्राहालय, बालचित्र प्रदर्शनी, घुम्दै पढ्दैू स्टल, पढाइ कुना, उत्कृष्ट अभिभावक सम्मान, बालबालिकाहरूको जेरी खाने खेल लगायतका रचनात्मक गतिविधिहरू आयोजना गरिएको थियो । कार्यक्रमको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा सहभागीहरूलाई पुरस्कार वितरण समेत गरिएको छ ।
यस कार्यक्रमको आयोजनाले प्रारम्भिक कक्षाबाट नै भाषा विकास र पठन क्षमता बढाउन, बालबालिकाको सामाजिक, भावनात्मक र बौद्धिक विकासमा सहयोग पुर्याउन तथा शिक्षक, अभिभावक र समुदायबीच सहकार्य बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ । यसले बालबालिकाको रुचि र क्षमता अनुसारको सिकाइ वातावरण निर्माणमा पनि ठुलो योगदान दिने अपेक्षा गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य बहादुर सिंह धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा सिंह धामी प्रमुख अतिथि रहेका थिए । यस्तै कार्यक्रममा उपाध्यक्ष कल्याण सिंह धामी विशिष्ट अतिथि तथा गाउँपालिका शिक्षा शाखा अधिकृत हरिना जोशी भट्टको समेत उपस्थित रहेको थियो ।
यहाँ हेर्नुस तस्बिर
