व्यासको घोरेटो बाटो निर्माणपछि नेपालकै बाटो भएर जिल्ला सदरमुकाम आवतजावत गर्न सकिने

टिंकर सडक निर्माणमा एक करोड बजेट

दार्चुला  । छाङरु र तिङ्कर दार्चुलामा पर्ने अन्तिम गाउँ हुन् । व्यास गाउँपालिका १ मा पर्ने छाङरुगाउँले भारतसँगको सीमालाई जोड्छ भने तिङ्करगाउँले चीनको ताक्लाकोट सीमानाकालाई जोड्छ । यहाँ सौका समुदायको बसोबास रहेको छ ।
२५ वर्षअघि २०५७ सालतिर नेपालको बाटो हुँदै जान सकिन्थ्यो । त्यसयता आवतजावत गर्ने घोडेटो बाटो बिग्रिएपछि नेपालबाट दार्चुला जिल्ला सदरमुकाम खलङ्गा आउन बन्द भयो । नेपालबाट बाटो नभएका कारण यहाँका सौका समुदायका मानिस भारतको बाटो प्रयोग गरेर आउन बाध्य भएका छन् ।
अब भने छाङरु र तिङ्करगाउँबाट नेपालको बाटो भएरै विगतमा झैँ सदरमुकाम खलङ्गा आउन सकिने भएको छ । सङ्घीय सरकारको बजेटबाट निर्माण गरिएको घोडेटो बाटोबाटै सदरमुकाम खलङ्गा आउन सकिने भएको छाङरुका स्थानीय योगेशसिंह बोहोराले बताउनुभयो । घोडेटो बाटो निर्माणमा नेपाली सेनाले विशेष भूमिका निर्वाह गरेको छ ।

नेपाली सेनाले गत आर्थिक वर्ष २०८१/८२ मा व्यास गाउँपालिका २ को तम्बाकु क्षेत्रमा ७२० मिटर बाटो निर्माण गरेको थियो भने चालु आव २०८२/८३ मा आतुङ्ती र कल्जु क्षेत्रको भिरमा तीन सय मिटर बाटो निर्माण गरेको दार्चुला–तिङ्कर सडक अन्तर्गतको (कोठेधार तिङ्कर सडक) आयोजनाका प्रमुख, प्रमुख सेनानी राजेश कटुवालले जानकारी दिनुभयो । दुम्लिङदेखि छाङरुगाउँसम्म घोडेटो बाटोको लम्बाइ २९ किलोमिटर छ ।

घोडेटो बाटोको बाँकी क्षेत्र निर्माण कम्पनी मिसन–देवहरि जेभीले गरेको निर्माण कम्पनीका प्रतिनिधि केशवबहादुर पालले जानकारी दिनुभयो । घोडेटो बाटो निर्माण भएपछि छाङरु र तिङ्करगाउँका सौका समुदायको ‘कुन्चा’ अब सहज रूपमा नेपालकै बाटो भएर आउन सक्ने भएका छन् । २५ वर्षपछि नेपालकै बाटो भएर ‘कुन्चा’ सदरमुकाम ल्याएको छाङरुका स्थानीय योगेशसिंह बोहोराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतको बाटो प्रयोग गर्दा अनेक समस्या झेल्नु परेको थियो, नेपालबाटै सहज रूपमा यस वर्ष ‘कुन्चा’ ल्याइयो ।” बसाइँसराइ गर्नुलाई सौका समुदायको भाषामा ‘कुन्चा’ सर्नु भनिन्छ । सङ्घीय सरकारबाट गत आवमा विनियोजित पाँच करोड ५० लाख रुपियाँ र व्यास गाउँपालिकाको ५० लाख रुपियाँ खर्च गरेर व्यास घोडेटो बाटो निर्माण गरिएको हो । सौका समुदायका अधिकांश कुन्चा भारतीय बाटो भएर आएको छ भने केही कुन्चा नेपालकै बाटो भएर खलङ्गा आएको छ ।

टिंकर सडक निर्माणमा एक करोड बजेट
सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ देखि टिंकर सडकका लागि छुट्टै बजेट शीर्षक निर्धारण गरेको भएपनि बजेट न्यून राखेको छ ।

महाकाली कोरिडोरबाट छुट्याएर तुसारपानी–टिंकर खण्डलाई छुट्टै बजेट शीर्षक दिइए सडक निर्माणका लागि एक करोड मात्रै बजेट विनियोजन गरिएको हो ।
नेपाली सेनाबाट निर्माण भइरहेको महाकाली कोरिडोरअन्तर्गतको तुसारपानी–टिंकर खण्डलाई छुट्टै बजेट दिदा थोरै मात्रै बजेट दिएको भन्दै आलोचना भएको छ ।

७९ किलोमिटर लामो बाटो नेपाली सेनाले निर्माण गरिरहेको भए पनि बजेट अभावले काम निकै सुस्त भइरहेको छ । चालू आर्थिक वर्षमा सेनाले हेलिकप्टरमार्फत जेसीभी छाङ्गरु पु¥याएर दुवैतर्फबाट सडकको ट्रयाक खोल्ने काम सुरु गरेको छ ।

Leave A Reply

Your email address will not be published.