तुइन घटनामा भारतसँग कुटनीतिक पहल गर्न परराष्ट्रलाई गृहको पत्र

दार्चुला । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनामा छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कुटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन हिजो मन्त्रालयले आवश्यक कुटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको हो । मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल ९एसएसबी०कै उपस्थितिमा धामी तुइन तर्ने क्रममा तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको प्रतिवेदन मङ्गलवार बुझाएको थियो ।

प्रतिवेदन तयार पार्न ढिलो गरेको र घटनालाई ढाकछोप गर्न लागिएको भन्दै सरकारको आलोचना भइरहेको बेला गृहले कुुटनीतिक पहल गर्न परराष्ट्रलाई पत्राचार गरेको हो । घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयका अनुसार समितिले घटनाको अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको थियो ।

यही प्रतिवेदनका आधारमा परराष्ट्रलाई कुटनीतिक पहलका लागि अनुरोध गरिएको गृह मन्त्रालयले जनाएको छ । छानबिन समितिबाट मङ्गलवार प्रतिवेदन बुझ्दै गृहमन्त्री बालकृष्ण खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको आश्वासन दिनुभएको थियो ।

साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ बाट तुइन तरेर भारत हुँदै जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा तुइनको लठ्ठासँगै खसेर धामी नदीमा बेपत्ता हुनुुभएको थियो । भारतीय सुरक्षाकर्मीले तुुइनको लठ्ठा काटिदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.