दार्चुलामा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो

दार्चुला ।  दार्चुलामा प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । जिल्लामा रहेका प्रमुख राजनीतिक दलहरुले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएपछि चुनावी सरगर्मी तातेको हो । चोकचोकमा रहेका चिया पसलदेखि जमघट हुने सार्वजनिकस्थलमा दलले उठाएका उम्मेदवारको विषयमा पुन:चर्चा हुन थालेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा मुख्य राजनीतिक दलदेखि अन्य साना दलहरुले पनि उम्मेदवार टुंगो लगाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस दार्चुलाले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ दिलेन्द्रप्रसाद बडूको नाम एकल रुपमा सिफारिस गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ बडूको नाम एकल सिफारिस गरेको कांग्रेस दार्चुलाका सभापति ललितसिंह बोहराले बताए ।

यस्तै नेकपा एमाले दार्चुलाबाट केन्द्रिय कमिटी सदस्य पूर्वमन्त्री गणेश सिह ठगुन्नाको नाम पार्टीले एकल रुपमा सिफारिस गरेको छ । पार्टीको नावौं जिल्ला कमिटी बैठकले केन्द्रीय कमिटी सदस्य ठगुन्नाको नाम एकल रुपमा सिफारिस गरेको जिल्ला कमिटी सचिव उमेश राज जोशीले जानकारी दिएका छन् ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीले दार्चुलाबाट पाँच जनाको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचन लड्न जिल्लाबाट चार पुरूष र एक जना महिलाको नाम सर्वसम्मत सिफारिस गरिएको हो । ०६४ सालमा दार्चुलाबाट संविधान सभामा निर्वाचित लक्ष्मणदत्त जोशी देखि ०७० सालमा उम्मेदवार बनेका ललितसिह ठगुन्नाको नाम सिफारिस गरिएको छ ।

यस्तै एकीकृत समाजवादीबाट मदनसिह धामी, युवाबाट नरबहादुर विष्ट र महिला बाट गंगाकुमारी महतराको नाम सिफारिस गरिएको नेपाली कम्युनिस्ट पार्टी दार्चुलाले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दार्चुलाबाट प्रत्यक्षतर्फ पार्टी सभापति राजेश सिह सामन्तलाई एकल रुपमा सिफारिस गरेको जनाएको छ ।

राप्रपा दार्चुलाले प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सांसद दिपक बहादुर सिंह, नरेन्द्र सिंह धामी र राजेश बहादुर चन्दको नाम सिफारिस गरेको राप्रपा दार्चुलाले जानकारी दिएको छ ।

दार्चुलाबाट त्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले जिल्ला इन्चार्ज नव राज भट्टलाई उमेदवार बनाएर निर्वाचनमा जाने निर्णय समेत गरेको पाटी सचिव नवराज जोशीले जानकारी दिए ।

दार्चुलामा प्रतिनिधि सभा निर्वाचनका लागि एउटा मात्र क्षेत्र रहेको छ भने प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गएको अवस्थामा जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जिल्लामा चुनावी गतिविधिलाई तीव्रता दिँदै गएको छ ।

Leave A Reply

Your email address will not be published.