शिक्षकको पेशा मानव सभ्यताको विकाससँगै सुरु भएको एक अत्यन्तै सम्मानित र जिम्मेवार पेशा हो। समाजलाई सही दिशा दिन, संस्कार र मूल्यहरू विकास गर्न तथा राष्ट्रको भविष्य निर्माण गर्न शिक्षकको भूमिका अपरिहार्य हुन्छ। शिक्षक केवल पाठ्यपुस्तकको ज्ञान दिने व्यक्ति मात्र होइनन्, उनीहरू विद्यार्थीको सोच, व्यवहार, चरित्र र व्यक्तित्व निर्माणका आधारशिला हुन्। हरेक सफल व्यक्तिको जीवनको पछाडि कुनै न कुनै शिक्षकको प्रेरणा र योगदान रहेको हुन्छ। यति महान पेशा भए तापनि शिक्षक हुनु सजिलो काम भने कदापि होइन। शिक्षकको पहिलो र सबैभन्दा ठूलो चुनौती भनेको जिम्मेवारी हो। एक शिक्षकको काँधमा देशको भविष्य निर्माण गर्ने ठूलो दायित्व हुन्छ। शिक्षकले केवल पाठ्यक्रम अनुसारका विषयवस्तु पढाउनु मात्र होइन, विद्यार्थीको नैतिक, सामाजिक र मानसिक विकासमा पनि महत्वपूर्ण भूमिका निभाउनुपर्छ। विद्यार्थीहरू विभिन्न सामाजिक, आर्थिक र पारिवारिक पृष्ठभूमिबाट आएका हुन्छन्। ती सबैलाई समान रूपमा बुझ्नु, उनीहरूको क्षमता पहिचान गर्नु र सही मार्गतर्फ डोर्याउनु शिक्षकका लागि निकै चुनौतीपूर्ण कार्य हो।
शिक्षकको भूमिका कक्षा कोठाभित्र मात्र सीमित हुँदैन। उनीहरूले विद्यार्थीको व्यक्तिगत समस्या, पारिवारिक अवस्था, आत्मविश्वासको कमी, मानसिक तनाव र भावनात्मक अवस्थालाई पनि ध्यान दिनुपर्छ। कतिपय विद्यार्थीहरू गरिबी, घरेलु समस्याहरू वा सामाजिक दबाबका कारण पढाइमा कमजोर हुन्छन्। यस्तो अवस्थामा शिक्षक केवल पढाउने व्यक्ति नभई अभिभावक, सल्लाहकार र प्रेरणाको स्रोत बन्नुपर्छ। विद्यार्थीलाई हौसला दिनु, उनीहरूको डर हटाउनु र भविष्यप्रति आशावादी बनाउनु शिक्षकको ठूलो जिम्मेवारी हो।
नेपालजस्तो विकासशील देशमा शिक्षकले भोग्नुपर्ने अर्को गम्भीर समस्या भनेको स्रोत र सुविधाको अभाव हो। धेरै विद्यालयहरूमा पर्याप्त पाठ्यसामग्री, पुस्तकालय, प्रयोगशाला र आधुनिक प्रविधिको सुविधा उपलब्ध छैन। इन्टरनेटको पहुँच नहुनु, पुराना विद्यालय भवनहरू, भीडभाड भएका कक्षाकोठा र सीमित शैक्षिक सामग्रीले शिक्षकको कामलाई झन् कठिन बनाउँछ। यस्ता कठिन परिस्थितिमा पनि शिक्षकहरूले आफ्नो कर्तव्य इमानदारीपूर्वक निभाइरहनु अत्यन्तै सराहनीय कुरा हो। सामाजिक दबाब पनि शिक्षकको पेशामा अर्को ठूलो चुनौती हो। नेपाली समाजमा शिक्षकलाई उच्च सम्मान दिइए पनि उनीहरूबाट अत्यधिक अपेक्षा राखिन्छ। अभिभावकहरू आफ्ना छोराछोरीको सम्पूर्ण सफलता शिक्षककै जिम्मा हो भन्ने सोच राख्छन्। विद्यार्थीको नतिजा कमजोर आएमा दोष शिक्षकलाई दिइन्छ। विद्यालय प्रशासन, समाज र सरकार सबैको अपेक्षा पूरा गर्नु शिक्षकका लागि सजिलो हुँदैन। यसले शिक्षकलाई सधैं मानसिक दबाबमा काम गर्न बाध्य बनाउँछ।
शिक्षकहरूको पारिश्रमिक र सुविधाको विषय पनि अत्यन्तै संवेदनशील छ। शिक्षकहरूले गर्ने मेहनत, समय र योगदानको तुलनामा उनीहरूले पाउने तलब प्रायः न्यून हुन्छ। विशेषगरी ग्रामीण क्षेत्रमा कार्यरत शिक्षकहरूले सीमित पारिश्रमिकमा जीवन यापन गर्नुपर्छ। आर्थिक असुरक्षाले शिक्षकको मनोबलमा नकारात्मक असर पर्न सक्छ। तर यस्ता समस्याका बाबजुद पनि धेरै शिक्षकहरू आफ्नो पेशाप्रति समर्पित भएर निरन्तर सेवा गरिरहेका छन्। यद्यपि शिक्षकको पेशामा धेरै चुनौती र कठिनाइहरू छन्, यस पेशामा अपार सन्तुष्टि र गर्व पनि निहित छ। शिक्षकहरूले आफ्ना विद्यार्थीहरू सफल भएको देख्दा सबै दुःख र संघर्ष बिर्सन्छन्। विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नु नै शिक्षकको सबैभन्दा ठूलो उपलब्धि हो। शिक्षकले विद्यार्थीलाई केवल परीक्षा पास गराउने ज्ञान मात्र होइन, जीवन जिउने कला, अनुशासन, इमानदारी, नैतिकता र जिम्मेवारीको भावना पनि सिकाउँछन्। एक असल शिक्षक समाज परिवर्तनका संवाहक हुन्। उनीहरूले शिक्षित, सचेत र जिम्मेवार नागरिक उत्पादन गर्छन्। आज समाजका जुनसुकै क्षेत्रमा सफल व्यक्ति भए पनि, त्यसको आधारमा कुनै न कुनै शिक्षकको योगदान अवश्य रहेको हुन्छ। डाक्टर, इन्जिनियर, वैज्ञानिक, नेता वा कर्मचारी सबै शिक्षककै विद्यार्थी हुन्। त्यसैले शिक्षकको योगदानलाई कहिल्यै पनि अवमूल्यन गर्न सकिँदैन।
अन्ततः, शिक्षक हुनु सजिलो छैन। यो पेशाले धैर्य, त्याग, निरन्तर मेहनत र आत्मसमर्पणको उपज हो। तर यसको मूल्य अमूल्य छ। शिक्षकको योगदान समाजका हरेक क्षेत्रमा फैलिएको छ। शिक्षकलाई सम्मान गर्नु, उनीहरूको संघर्ष बुझ्नु र आवश्यक सहयोग प्रदान गर्नु हाम्रो सामूहिक दायित्व हो। शिक्षकप्रति सम्मान प्रकट गरेर मात्र हामी एक सशक्त, शिक्षित र उज्ज्वल राष्ट्र निर्माण गर्न सक्छौं। भनिन्छ नि , जहाँ गुरुको सम्मान हुन्छ त्यो शिष्यलाई कहिले नि हानि हुदैन |
लेखक : अर्जुन जंग रायमाझी
शिव माध्यमिक विधालय