दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा ८७० जना कर्मचारी परिचालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार १४५ मतदान केन्द्रमा ८७० जना कर्मचारी खटाइने भएको हो ।
केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको खटनपटनको काम अगाडि बढाइने जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कम्प्युटर अपरेटर तथा सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगीलाई मतदान केन्द्रमा खटाउने तयारी भएको बताए ।
पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा आठ जना र सोभन्दा कम मतदाता भएको केन्द्रमा सात जना कर्मचारी खटाइने निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ११ जनाको उम्मेदवारी कायम रहेको छ । यहाँ ९२ हजार ९४८ जना मतदाता रहेका छन् । तीमध्ये ४७ हजार ७५५ पुरुष, ४५ हजार १९३ जना महिला मतदाता रहेका छन् ।