दार्चुला । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका-७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।
सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले जानकारी दिएका छन् । मृतहरूको पहिचान खुलेको छ ।
मृत्यु हुनेहरूमा बझाङको बित्थडचिर गाउँपालिका-७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेश राज जोशी रहेका छन् । बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी गाउँपालिका-७ का ४० वर्षीय वसन्त राज रतलाको पनि मृत्यु भएको छ ।
त्यस्तै, बैतडीको पुर्चौडी नगरपालिका-७ का वर्षीया पुष्पा अवस्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ४५ जना घाइते भएका छन् । घाइतेहरूको उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।
जन्ती बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गर्दा दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।