बैतडी जन्ती बस दुर्घटना : दार्चुलाको शैल्यशिखर नगरपालिकाले दियो शोक बिदा

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा दु:ख व्यक्त गर्दै नगरपालिकाले एक सूचना जारी गरेर शोक बिदा दिएको हो ।
जारी सूचनामा नगरपालिका मातहतका शौक्षिक संस्था, लगायत सम्पूर्ण कार्यालयहरुमा एक दिन बन्द गर्ने उल्लेख छ । बिहीबार राति ८ बजेतिर बैतडीको पुर्चौंडी नगरपालिका –७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ गइरहेको पवनदूत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का वडा सचिव बसन्तराज जोशीको पनि मृत्यु भएको थियो ।
प्रहरीका अनुसार, दुर्घटनामा ज्यान गुमाउने जोशी बझाङको बित्थडचिर गाउँपालिका–७ का स्थायी बासिन्दा हुन्। उनी दार्चुलाको शैल्यशिखर नगरपालिका कार्यालयमा पशु सेवा शाखामा नायब प्राविधिक सहायक (ना.प्रा.स.) पदमा कार्यरत थिए। जोशीले शैल्यशिखर नगरपालिका–१ बलाँचको वडा सचिवको जिम्मेवारी समेत सम्हालिरहेका थिए।
जोशी आफ्नो पेसागत जिम्मेवारीका साथै नेपाल निजामती कर्मचारी संगठन शैल्यशिखर नगर कार्यसमितिका सचिव समेत रहेका थिए। विवाहको खुसी साट्न हिँडेको जन्ती बस दुर्घटनामा परी वडा सचिव जोशीसहित १३ जनाको अकालमा ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ।

Leave A Reply

Your email address will not be published.