दार्चुला। दार्चुलामा आचारसंहिता अनुगमन अधिकृतहरुले कर्मचारी र शिक्षकहरुमाथि निगरानी सुरु गरेका छन् ।
जिल्लाका केही स्थानबाट कर्मचारी र शिक्षकहरुले राजनीतिक दल र उम्मेदवारहरुसंग भेटघाट गरेको, प्रचारमा सहयोग हुनेगरी प्रस्तुत भएको र आचारसंहिता विपरितको अवस्था देखिएको मौखिक गुनासो आएपछि निगरानी बढाएको जनाइएको छ ।
जिल्लाभरीका सबै कर्मचारी र शिक्षकहरुबाट आचारसंहिता उलंघनको रोक्न आचारसंहिता अनुगमन निगरानी कडाइ साथ लागु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिए ।
कर्मचारी र शिक्षकहरुबारे केही मौखिक गुनासा आएपछि माघ २५ गते आइतवार मात्रै जिल्लास्तरमा सरोकारवालाहरुसंग छलफल गरिएको उनले बताए । कर्मचारी र शिक्षकका ट्रेड युनियनका प्रतिनिधिहरुसंग छलफल गरेर कडाइका साथ आचारसंहिता पालना गर्न गराउन सहयोग मागिएको छ ।
पदीय जिम्मेवारी र आचारणविपरित कहिकतै प्रचारप्रसारमा संलग्नता देखिए सम्बन्धित कर्मचारी र शिक्षकमाथि कारवाही हुने चेतावनी दिइएको छ । जिल्लाभरीको आचारसंहिता अनुगमनको प्रशासनिक जिम्मेवारी सहायक प्रजिअ र आर्थिक पाटोको अनुगमनको जिम्मेवारी कोष नियन्त्रकलाई दिइएको छ ।
केही कर्मचारी र शिक्षकबारे मौखिक गुनासो प्राप्त भए पनि अहिलेसम्म आचारसंहिता उलंघनको कुनै पनि उजुरी दर्ता नभएको आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रजिअ दाहालले बताए । फेसबुकलगायतका सामाजिक सञ्जालको प्रयोगबारे पनि कर्मचारी र शिक्षकहरुमाथि निगरानी गरिएको छ ।