अपिहिमालमा वडा विभाजनको माग, स्थानीयद्वारा गाउँपालिकालाई ज्ञापनपत्र

दार्चुला । अपिहिमाल गाउँपालिका-३ अन्तर्गत साविक खण्डेश्वरी गाउँ विकास समितिका वडा नं. १ देखि ५ सम्मको भौगोलिक क्षेत्रलाई समेटेर नयाँ वडा गठन गर्नुपर्ने मागसहित स्थानीय बासिन्दाले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन्।

स्थानीय कमल रोकायका अनुसार साविक खण्डेश्वरी गाविसका वडा नं. ४ र ५ हाल अपिहिमाल गाउँपालिकाको वडा नं. ४ मा समेट्ने प्रस्ताव सहित ज्ञापनपत्र बुझाएका छन्। तर, वडा सीमांकन र विभाजन स्पष्ट नहुँदा लामो समयदेखि प्रशासनिक तथा सेवा प्रवाहमा समस्या भोग्दै आउनु परेको उनीहरूको गुनासो छ। वडा कार्यालयसम्म पुग्न एकतर्फी चार घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्ने बाध्यता, भौगोलिक विकटता तथा आवत–जावतको कठिनाइका कारण आधारभूत सेवा लिनसमेत समस्या भइरहेको स्थानीयले बताएका छन्।

उनीहरूले २०७४ सालमै वडा विभाजन तथा सीमांकनका विषयमा सर्वदलीय सहमति भई प्रस्ताव संघीय सरकारसम्म पठाइएको भए पनि हालसम्म कार्यान्वयन नभएको उल्लेख गरेका छन्। माग सम्बोधन नभएकै कारण स्थानीयस्तरमा असन्तोष बढ्दै गएको र समस्या समाधान नभए २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान नगर्ने निर्णयसमेत गरिएको ज्ञापनपत्रमा चेतावनी दिइएको छ।

स्थानीयको प्रस्तावअनुसार साविक खण्डेश्वरी गाविसका वडा नं. ४ र ५ को भू–भागलाई समेटेर हाल अपिहिमाल गाउँपालिकामा छुट्टै नयाँ वडा गठन गर्नुपर्ने वा ती क्षेत्रलाई स्पष्ट रूपमा वडा नं. ४ मा समाहित गरी सीमांकन टुंग्याउनुपर्ने माग गरिएको छ। यसो भए सेवा प्रवाह प्रभावकारी र सहज हुने उनीहरूको दाबी छ।

स्थानीय हरूको तर्फबाट संयोजक लालसिंह धामीद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्र गाउँपालिका अध्यक्षमार्फत नेपाल सरकारका सम्बन्धित निकायमा पठाउने उद्देश्यले बुझाइएको हो। ज्ञापनपत्रको बोधार्थ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अपिहिमाल गाउँपालिका समितिलाई समेत दिइएको छ।

हेर्नुहोस तस्बिरमा

 

Leave A Reply

Your email address will not be published.