दार्चुला । यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका दार्चुलाका सीमा नाका तीन दिन बन्द हुने भएका छन् । निर्वाचन हुनु भन्दा ७२ घण्टा अगाडी देखि सीमा नाका बन्द हुने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका नाकाहरु बन्द हुने बताइएको छ । नेपाल –भारत सीमा नाका फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द गरिने प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । निर्वाचन नजिकिए संगै सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको पनि उनले बताए ।
सीमा क्षेत्रमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका बिओपीमार्फत सुरक्षा निगरानी बढाएको छ । उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नु परेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।
पहिलादेखि नै चुनावको समयमा ७२ घण्टा सीमा नाका बन्द गर्ने गरिएकाले यो चुनावमा पनि सीमा नाका बन्द गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । नेपाल र भारत दुवै देशमा हुने चुनावको समयमा सीमा नाका बन्द गर्ने गरिएको छ । दार्चुलामा भारत संग लाली, जोलजिबि, दत्तु, तिग्रम, बडूगाउँ र सितापुल गरी आधादर्जन सीमा पुलहरु बन्द हुने सुरक्षा स्रोतले जनाएको छ ।