दार्चुला । नेपाली कम्युनिष्ट पार्टी पार्टी(नेकपा)को तर्फबाट फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दार्चुलाबाट उम्मेदवार बनेका लक्ष्मणदत्त जोशीले ‘सुरज’ले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । पहिलो संविधानसभा निर्वाचन २०६४ मा तत्कालिन नेकपा (माओवादी)का तर्फबाट विजयी भएका जोशी यसपाली दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् ।
उम्मेदवार जोशीले ‘सुन्दर र समृद्ध,दार्चुला हाम्रो अभिभारा’ भन्ने मुल नाराका साथ चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार जोशीले जिल्लाका मुख्य समस्याहरुको पहिचान अन्तरर्गत भौगोलिक जटिलता,कृषि योग्य जमिनको सिमित्तता, बाढि पहिरो जस्ता प्रकोपहरुको उच्च जोखिम रहेको औँल्याएका छन् ।
आधारभुत भौतिक संरचना सडक खानेपानी सिचाइको विकासमा बजेट विनीयोजन नहुने तर सिमित केही व्यक्तिहरुको नियन्त्रणमा राज्यको बजेट वितरण हुने प्रतिबद्धता पत्रमा राखेका छन् । बेरोजगारी,शिक्षाको कमी,लगायत बसाइसराई कारण खेतीयोग्य जमिन बाझो रहने अवस्था रहेको पनि सार्वजनिक गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी पार्टी(नेकपा)ले पाँच वर्षभित्र गर्न सकिने कामहरु पनि देखाएको छ ।
जसमध्ये पहिलो नम्बरमा गोकुलेश्वर खलंगा सडकलाई दुई लेनको सडकमा स्तरोउन्नती गर्न बजेट विनीयोजन गर्ने बताएका छन् । महाकाली करिडोरको धनथलापुल निर्माण गदैँ लेकमको लाली देखि व्यासँको दुम्लिङसम्मको सडकखण्डको ट्याक खोल्न बजेट विनीयोजन गरिने पनि बताएका छन् ।
खलंगा दल्लेख हुदैँ होपरीगाडसम्म कालोपत्रे गरिने बाचापत्रमा राखिएको छ । बन्द अवस्थामा रहेको गोकुलेश्वर विमानस्थललाई सञ्चालनमा ल्याइने छ । खेलकुदका लागि पूर्वाधार नभएका स्थानीय तहमा खेलुकुद विकासका लागि खेलकुद मैदान र कबर्डहल निर्माणका लागि पहल गरिने बताएका छन् । मार्मा प्रवेशद्धार विटुले ड्याम साइटमा सहिद पार्क निर्माण गरिने घोषणा पत्रमा राखिएको छ ।
तिंकर नाकालाई नियमित रुपमा सञ्चालन गर्नका लागि पहल गरिने, महाकाली चमेलिया र यीनका सहायक नदीहरुले कटान गरेका ठाउँमा पक्की तटबन्धको व्यवस्थापन गरिनेछ । तिंकरमा अध्यागमन कार्यालय स्थापनाका लागि पहल गरिने पनि चुनावी प्रतिबद्धता पत्रमा राखिएको छ । जिल्लामा पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यको क्षेत्र सुधार, रोजगारी, उद्यम, कृषि, ऊर्जा, पर्यटन लगायत उत्पादन क्षेत्रका समस्या समाधान गर्ने उद्देश्यले नै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको उनको भनाई छ ।
१८ वर्षअघिको संविधानसभा निर्वाचनमा जोशी २५ हजार ४ सय ४ मत ल्याइ विजयी भएका थिए । त्यतिबेला जोशीसंग प्रतिस्पर्धा गरेका नेकपा (एमाले)का उम्मेदवार गणेश सिंह ठगुन्नाले १२ हजार ८ सय १३ मत र नेपाली काग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडूले १२ हजार ५ सय ९९ मत प्राप्त गरेका थिए ।
जोशी र ठगुन्ना यसपाली दोस्रोपटक चुनावी प्रतिस्पर्धा गर्दैछन् भने काग्रेस नेता बडू चुनावी प्रतिस्पर्धामा छैनन् । २०६४ सालको निर्वाचनमा ५५ हजार ९ सय ५१ मत खसेकोमा विजयी उम्मेदवार जोशी एक्लैले ४७ प्रतिशत मत पाएका थिए ।
