जिल्लाकै सबैभन्दा ठुलो मालिकार्जुन जात्रा आज

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मालिकार्जुनमा रहेको राष्ट्रकै सात धार्मिक तिर्थ स्थल मध्येको एक मालिकार्जुनमा बुधबार ( आज ) जिल्लाकै सबैभन्दा ठुलो जात्रा लाग्दै छ।

हरेक वर्ष कार्तिक शुल्क चतुर्दशीका दिन लाग्ने जात्रा बुधबार विहानबाट शुरु  भएको हो ।मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने मालिकार्जुन धामको पूजन जात्रा हेर्न सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्ला र भारत, उत्तराखण्डबाटसमेत श्रद्धालु भक्तजन आउने गर्छन् ।

पवित्र मनले मालिकार्जुनको दर्शन गर्नाले पूण्य मिल्ने , मनोकामना पूरा हुने र खासगरी निःसन्तालाई सन्तान सुख प्राप्त  हुने जनविश्वास रही आएको छ । आजकै दिन मालिकार्जुनका देवीहरुको बसोबास रहेको लेकम ५ मैखोली, लेकम ६ उचाकोट, लेकम २ गराडी लगायत विभिन्न शक्तीपिठहरुमा रातभरी जात्रा लाग्ने गर्दछ ।

द्धितिया तिथिबाट जिल्लाको लेकम क्षेत्रमा सुरु भएका जात्रा पूर्णिमाको दिन सकिन्छन् । लेकम गाउँपालिकाको पाती, कुणी लगायत स्थानमा पुर्णिमाको दिन अन्तिम जात्रा लाग्ने गर्दछ । जिल्लाको लेकमा क्षेत्रमा दशै तिहार भन्दा पनि जात्रालाई बढी महत्व दिईने गरेको छ । मालिकार्जुन जात्रामा दमाहा बाजा सहित भक्तजनहरुको भीड लाग्ने गर्छ ।

 

एक गाउँको दमाहा अर्को गाउँसँग प्रतिस्पर्धा हुने गर्छ । रातभर दमाहा बजाएर विहानीपख सबै बाँजाहरुबीच प्रतिस्पर्धा गराई पहिलो तथा दोस्रो भनेर मन्दिरका मुखियाले विजयी भएको घोषणा गर्ने समेत चलन रहेको छ । मालिकार्जुनको जात्रामा रिठाचौपाताबाट आउने दमाहा बाँजा हरेक वर्ष प्रथम हुन्छ भने मालिकार्जुनकै दोस्रो । यसैगरी रिठाचौपाताको जयपूर मन्दिरमा लाग्ने जात्रामा मालिकार्जुनको दमाहा पहिलो हुन्छ ।रातभरी जात्रा हेरेर विहिबार बिहान प्रसाद ग्रहण गरी मानिसहरु घर फर्कन्छन् भने कोहीले बिहानीपख ठाडो खेल, ढुस्को तथा देउडा खेल्ने गर्दछन् । जात्राको लागि घर बाटा टाढा गएकाहरु समेत फर्किने गरेका छन् ।

कसरी र कहाँ भयो मालिकार्जुनको उत्पत्ति ?

द्वितीय ज्योतिर्लिङ्गको मालिकार्जुनको अवतारी मूल स्थापना दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको श्री शैल भन्ने ठाउँमा भएको शिव पुराणमा उल्लेख  भएको पाइन्छ । त्यहाँबाट कत्युर गडवाल, कुमाऊँ हुँदै दार्चुलातिर आएको मालिकार्जुन भक्ति गाथामा वर्णन गरिएको छ ।

तत्कालीन डोटी राज्य भित्र पर्ने दुहूँ क्षेत्रमा बम रजवारले डोटी राज्यलाइ कर बुझाइ रजवारी पाएका थिए । यिनका समकालीन उकुका रजवार कल्याण पाल थिए । डोटी राज्यका शासक निरइदेव पालका भाइ अभय पालका सन्तान भएकाले उकुका रजवार अरू रजवारभन्दा आफू श्रेष्ठ भएका घमण्ड पनि गर्दथे । उकुका रजवार कल्यान पाल र दुहूँका रजवारको शासनकाल एकै समय थियो । दुहूँ र उकुको सिमाना जोडिएकै कारण यी दुवैमा आपसी बैमनुष्य, रिस, राग, द्वैषको अवस्था सिर्जना भइ मन मुटाव भएको थियो ।

यी दुबैका शासनकाल सम्बत् १९५० तिर रहेको पाइन्छ । यी दुबै रजवार बिचको मनमुटावका कारण सीमावर्ती क्षेत्रमा कर वसुली न्याय, इन्साफजस्ता कार्यमासमेत असर पुगेको थियो । कालु बमभन्दा कल्याण पालको राज्यमा सल्लाहकारको रूपमा परशुराम पन्त, दत्तु जोशी, कर्णदेव विष्ट र एक जना ओझा थरका व्यक्ति थिए । एक पटक तीनै सल्लाहकारहरूले दुहूँका रजवारसँग सन्धि सम्झौता गर्ने सल्लाह दिए ।
कल्याण पालको सल्लाह मानि मेलमिलाप गर्ने उद्देश्यले चारै जना सल्लाहकारलाइ कालु बम कहाँ पठाए ।

 

त्यहाँ गइ उक्त प्रस्ताव कालु बमसमक्ष राख्दा प्रस्ताव स्वीकार त गरे । तर आफू कल्याण पालल्ई भेट्न उकु नजाने त्यहाँ गएमा आफ्नो हत्या हुन सक्ने भएकाले बरू सहमतिस्वरूप सौगात पठाइ दिने कुरा कालु बमबाट दर्साउदा सल्लाहकारहरूबाट गाईको गोबरबाट निर्मित मालिकार्जुनको लिङ्ग बनाइ उक्त लिङ्गको कसम खा‘दै कल्याण पालबाट कुनै पनि खतरा भएमा आफूहरूले उसको विरोध गर्ने र कालु बमको पक्षमा रहने विश्वास दिलाइ कालु बमलाइ उकु ल्याए ।

कालु बम उकु पुगेपछि कल्याण पालले सल्लाहकारको राय विपरीत कालु बमको हत्या गरेकाले कल्याण पालको विरोध गर्दै परशुराम पन्त, दत्तु जोशी र कर्णदेव विष्टले राज्य विद्रोह गरे भने ओझा थरका व्यक्तिले राज्य समर्थन गरे । सो विद्रोह गर्नेलाइ कल्यान पालबाट प्राण दण्डको सजाइ सुनाइयो भने ओझालाइ दरवारको विश्वास पात्र बनाइयो ।

यसरी दुहूँको दाम्दा कोट (विण) मा स्थापित लिङ्गमा मन्दिर बनाइ सोहि समयदेखि पूजा आजा गरिंदै आएको छ । यसको समय सम्बत् १९२० तिर मानिन्छ । मालिकार्जुनको मन्दिरमा कालु बमको राज पुरोहित बडु थरका व्यक्ति नै पूजा आजा गराउँछन् र मालिकार्जुन लिङ्गमा कसम आएको उल्लङ्घन गरी कालु बमको हत्यामा समर्थन गरेकाले ओझा थरका ब्राह्मणहरूलाइ उहिलेदेखि हालसम्म पनि मालिकार्जुनको श्रापका कारण मालिकार्जुन मन्दिरमा ओझाको पानी नचढ्ने र पूजाआजामा समेत ओझाहरूलाई निषेध गर्ने कथ्य परम्परा रही आएको छ ।

Leave A Reply

Your email address will not be published.