सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिहरूको आग्रह

काठमाडौं । फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनको पराजयलाई जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने मनस्थिति बनाएका नेपाली कांग्रेसका सभापति गगन थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिहरूले आग्रह गरेका छन्।

२०७९ सालमा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट टिकट पाएर जितेका ललितपुरका जनप्रतिनिधिहरूले सभापति थापालाई पदबाट राजीनामा नदिन भनेका हुन्।

आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुरका नगर प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती, राष्ट्रियता र लोकतन्त्रको संरक्षणका साथै समसामयिक राजनीतिमा खेल्नुपर्ने प्रभावकारी भूमिकाका लागि गगन थापा नै एक मात्र योग्य व्यक्तित्व भएको उल्लेख छ।

जनप्रतिनिधिहरूले पछिल्लो समय चर्चामा आएको सभापतिको राजीनामाको विषयलाई पूर्णत: नकार्दै पार्टीको सुदृढीकरणका लागि नेतृत्वको निरन्तरताको खाँचो औंल्याएका छन्।

यसरी ऐक्यबद्धता जनाउनेहरूमा ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महाङ्काल गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन छन्।

त्यस्तै महाङ्कालका अध्यक्ष गणेश बहादुर केसी, गोदावरीकी उपप्रमुख मुना अधिकारी, महालक्ष्मीकी उपप्रमुख लक्ष्मी महर्जन र कोन्ज्योसोमका उपाध्यक्ष राजन घिमिरेले पनि सामूहिक रूपमा सभापति थापालाई अभिभावकत्व ग्रहण गर्न आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.