मालिकार्जुन मावि मडको व्यवस्थापन समिति गठनमा ढिलाइ, नेविसंघको ध्यानाकर्षण

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थित मालिकार्जुन माध्यमिक विद्यालय, मडमा लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको विषयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मालिकार्जुन गाउँपालिका समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।
नेविसंघ मालिकार्जुन गाउँपालिका सभापति ललित सिंह धामी नेतृत्वको टोलीले विद्यालयका प्रधानाध्यापक नवराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै करिब पाँच महिनादेखि विद्यालय व्यवस्थापन समिति गठन नभएकोप्रति आपत्ति जनाएको हो।
नेविसंघले बुझाएको ज्ञापनपत्रमा विद्यालय व्यवस्थापन समिति विद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधिलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउ महत्वपूर्ण संरचना भएको उल्लेख गरिएको छ। लामो समयसम्म समिति गठन नगरी विद्यालय सञ्चालन भइरहनु दुःखद, गैरजिम्मेवारपूर्ण तथा प्रचलित नियम विपरीत भएको नेविसंघको ठहर छ।
नेविसंघका अनुसार व्यवस्थापन समिति नहुँदा विद्यालयको नीति निर्माण, योजना तर्जुमा, शैक्षिक सुधारका कार्यक्रम तथा विभिन्न प्रशासनिक निर्णय प्रक्रियामा प्रत्यक्ष असर पर्ने गरेको छ। यसले विद्यालयको समग्र व्यवस्थापनमा समेत समस्या उत्पन्न गर्ने भन्दै प्रचलित शिक्षा ऐन तथा नियमावली बमोजिम यथाशीघ्र विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अघि बढाउन माग गरिएको छ।
समिति गठन प्रक्रिया तत्काल सुरु नगरेमा नेपाल विद्यार्थी संघ बाध्य भएर थप दबाबमूलक कार्यक्रम तथा आन्दोलनका कदम चाल्ने चेतावनी समेत दिएको सभापति धामीले जानकारी दिनुभयो।
यस विषयमा विद्यालयका प्रधानाध्यापक नवराज जोशीले भने व्यवस्थापन समिति गठन प्रक्रिया अघि बढाइएकै भए पनि सदस्यहरूबीच सहमति नजुट्दा ढिलाइ हुन पुगेको बताउनुभयो। उहाँका अनुसार नियमावली अनुसार अभिभावकबाट चार जना तथा तीन जना मनोनित सदस्यहरू समेत चयन भइसकेका छन्। तर अध्यक्ष चयन हुन नसक्दा समिति पूर्ण रूपमा गठन हुन सकेको छैन।
विद्यालय स्रोतका अनुसार चयन भएका दुई सदस्यबीचको विवादका कारण लामो समयदेखि अध्यक्ष चयन प्रक्रिया रोकिएको हो। प्रधानाध्यापक जोशीले अध्यक्ष चयन नभए पनि चयन भएका सदस्य मध्ये जेष्ठ सदस्यले कामकाज सञ्चालन गर्न पाउने व्यवस्था रहेको बताउनुभयो। साथै यस विषयमा थप छलफल गर्न मंगलबार बैठक बोलाइएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.