लेकमको सरकारी गाडी दुरुपयोग बारे बोल्यो रास्वपा, विज्ञप्ति निकालेर के भन्यो ? (विज्ञप्तिसहित )

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लेकम गाउँपालिका समितिले सरकारी सवारी साधन दुरुपयोग भएको भन्ने आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रास्वपा लेकम गाउँपालिका समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित सामग्रीका आधारमा पालिकाको सरकारी स्कार्पियो गाडी राजनीतिक कार्यक्रममा कार्यकर्ता ओसारपसार गर्न प्रयोग गरिएको भन्ने आरोप सार्वजनिक भएकोले छानबिन गर्न माग गरेको छ ।

विज्ञप्तिमा यस्ता गतिविधि सत्य प्रमाणित भए सार्वजनिक स्रोतसाधनको स्पष्ट दुरुपयोग हुने ठहर गरिएको छ। सरकारी स्रोतसाधन जनताको करबाट सञ्चालन हुने भएकाले त्यसको प्रयोग केवल सार्वजनिक सेवा र आवश्यक कार्यमा सीमित हुनुपर्ने पार्टीको धारणा छ।

सरकारी साधन राजनीतिक लाभका लागि प्रयोग गर्नु सुशासन, पारदर्शिता र उत्तरदायित्वका मूल्य–मान्यताविपरीत भएको रास्वपा लेकम सभापति महेश नाथले जानकारी दिए ।
यस सन्दर्भमा रास्वपाले घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न, दोषी पाइएमा कानुनी कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट मापदण्ड र प्रभावकारी अनुगमन व्यवस्था गर्न सभापति नाथले माग गरेका छन् ।

साथै, सम्बन्धित निकाय तथा जनप्रतिनिधिलाई यस विषयमा यथाशीघ्र आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गर्दै जनतामा फैलिएको अन्योल अन्त्य गर्न भनिएको छ ।
रास्वपाले सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणालीको पक्षमा दृढ रहेको उल्लेख गर्दै यस्ता विषयमा निरन्तर निगरानी र खबरदारी गरिरहने पनि प्रतिबद्धता व्यक्त गरिएको छ ।

Leave A Reply

Your email address will not be published.