निर्वाचन बहिष्कार गरेका अपिहिमाल -३ का स्थानीय झनै आक्रोषित हुदैँ, माग पूरा नभए आन्दोलन चर्काउने चेतावनी
दार्चुला। दार्चुलाको विगट अपिहिमाल गाउँपालिका वडा–३का स्थानीयहरु अहिले पनि आक्रोषित रहेका छन् । गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नै बहिष्कार गरेका त्यहाँका स्थानीयहरु अहिले पनि आक्रोषित रुपमा देखिएका छन् ।
वडा विभाजनको माग राख्दै आएका त्यहाँका स्थानीयहरुले आफ्ना माग पूरा नभए थप आन्दोलनका कार्यक्रमहरु गर्ने बताउन थालेका छन् । साबिकको खण्डेश्वरी गाउँविकास समितिको वडा नं ३ देखि ५ सम्मको भुगोल मिलाएर एक वडा थप गर्ने सर्वदलिय निर्णयपछि आन्दोलन स्थगित गरिएको जानकारी दिदै हालसम्म उक्त निर्णय कार्यान्वयन नभएको भन्दै त्यहाँका स्थानीयहरु आक्रोषित हुदैँ आएका छन् ।
वडा विभाजनको मागलाई स्थानीय तह २०७४ सालमा पुर्व सर्वदलिय सहमति अनुसार सिमा हेरफेर गरी थप वडा सिफारिसका लागि नेपाल सरकारलाई पठाएको तथा २०७९ सालमा निर्वाचित स्थानीय सरकारले समेत सिमा हेरफेर गरी थप वडा सिफारिसका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको भएपनि वडा विभाजनाको मुद्दाले टुंगो पाउन सकेको छैन् ।
यो निर्णय हालसम्म पनि कार्यान्वयमा नआएको भन्दै त्यहाँका स्थानीयहरु मर्कामा परेका छन् । वडा विभाजन तथा सिमाहेरफेरमा कुनै सुनवाई नभएपछि त्यहाँका झुस्कु, छविस र चौडबस्तीले गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नै बहिष्कार गर्न बाध्य भएका थिए ।
स्थानीय कमलसिह रोकायाका अनुसार वडा नं ३ को भट्टार बस्तीबाट वडाकार्यालयसम्म जान एकतर्फी रुपमा ४ घण्टा पैदल यात्रा गर्नु परेको बताउछन् । वर्षायाममा बाटोघाटोको समस्याले आवतजावतमा निकै सास्तीहुने भएकाले तत्काल यो समस्या समाधन गर्न उनले अपिल समेत गरेका छन् ।
त्यहाँको झुस्कु, छविस खिर्सा र सम्भाडबस्तीबाट पालिकासम्म पुग्न १ र वडा कार्यालयसम्म पुग्न ३ घण्टा समय लाग्ने गरेको छ । यसले गर्दा त्यहाँका नागरीकहरु निकै अन्यायमा रहेको गुनासो गरेका छन् । आजसम्म राज्यले त्यहाँका नागरीकहरुको माग नसुनेर दोस्रो तहका नागरीकहरुको व्यवहार देखाएको भन्दै नागरीक झनै रुष्ट देखिएका छन् ।
स्थानीयले २०७४ साल देखि उठाउदैँ आएका माग साबिकको खण्डेश्वरी गाउँविकास समितिको वडा ३ देखि ५सम्मको भुगोललाई समेटेर एउटा छुट्टै वडा थप गर्न भनेका छन् ।
वडा विभाजन तथा सिमा हेरफेर अन्तरर्गत नयाँ वडा थप गर्न नसकिने भए साबिकको खण्डेश्वरी गाउँविकास समितिको वडा नं ४ र ५लाई अपिहिमाल गाउँपालिकाको वडा ४मा समाहित गर्न समेत आग्रह गरिएको छ । यसैविच त्यहाँका स्थानीयहरुले रास्वपा जिल्ला सभापति राजेश सिह सामन्तलाई स्वागत गरेका छन् ।
निर्वाचनमा पराजित भएपनि निर्वाचन बहिष्कार गरेको क्षेत्रमा पुगेर समस्या बुझ आएको प्रति त्यहाँका स्थानीयहरुले सभापति सामन्तलाई धन्यबाद सहित ज्ञापनपत्र बुझाएका छन् । स्थानीयको वडा विभाजनको माग सम्बन्धित क्षेत्रमा पुगेको र अब चाडो स्वकृतीका लागि सम्बन्धीत क्षेत्रमा पहलका लागि अनुरोध सहित ज्ञापन पत्र बुझाएको स्थानीय लालसिह धामीले जानकारी दिए । समयमै यी मागहरु पुरा नभए सशक्त आन्दोलनका मागहरु अगाडी बढाउने उनले चेतावनी दिएका छन् ।
