काठमाडौं । बालेन्द्र शाह (बालेन) नेपालको ४२औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । ३६ वर्षीय शाह यसअघि काठमाडौं महानगरपालिकाको मेयर बनेका थिए ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका उनले २०८२ सालको आमचुनावमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव जितेका हुन् ।
उनी झापा– ५ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरी विजेता बनेका हुन् । बिहीबार मात्रै रास्वपाले उनलाई संसदीय दलको नेतामा चयन गरेपछि शाहको प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।
शाहको जन्म बुवा स्वर्गीय नारायण शाह र आमा ध्रुवदेवी शाहको कोखबाट १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको हो । उनको प्रारम्भिक पढाइ नरदेवीकै जलजला स्कुलमा भएको हो । माध्यमिक तहको पढाइ भने तीनकुनेको भीएस निकेतनमा भएको उनीनिकटले जानकारी दिएका छन् । स्नातक तहको पढाइ भने काठमाडौंको ह्वाइट हाउसमा भएको थियो । सोही कलेजबाट शाहले सिभिल इन्जिनियरिङको कोर्स गरेका थिए ।
शाहले भारतबाट स्नातकोत्तर तहको पढाइ पूरा गरेका छन् । उनले बैंगलोरस्थित विश्वेश्वरैया प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङको पढाइ सम्पन्न गरेका हुन् ।
बैंगलोरस्थित विश्वेश्वरैया प्राविधिक विश्वविद्यालयबाट संरचनात्मक इन्जिनियरिङ
विभिन्न विधामा सक्रिय उनी सिभिल इन्जिनियर, संरचनात्मक अनुसन्धानकर्ता तथा काठमाडौंका पूर्वमेयरका रूपमा परिचित छन् । पूर्वाधार विकास, सम्पदा संरक्षण र सार्वजनिक नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले २०७२ सालपछि नेपालभर भूकम्पपछिको पुनर्निर्माणमा उल्लेखनीय योगदान दिएको बताइएको छ ।
इन्जिनियरिङ क्षेत्रमा समेत सक्रिय शाहले पुल, सडक तथा भवन निर्माणका विभिन्न परियोजनामा काम गरेका छन् । उनीनिकट सहकर्मीका अनुसार शाहले नेपालका ६५ जिल्लामा काम गरिसकेका छन् भने २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा उनको महत्त्वपूर्ण संलग्नता रहेको छ ।
काठमाडौं महानगरपालिकाको मेयर भएर शहरी सुशासन र विकासका विभिन्न पहलहरूको नेतृत्व गरेका उनले आफ्नो कार्यकालमा पूर्वाधार सुधार, सम्पदा संरक्षण र सार्वजनिक सेवा प्रवाहमा विशेष जोड दिने प्रयास गरेका थिए । यद्यपि, उनका कार्यमा केही आलोचना भने नभएका होइनन् ।
शाह अनुसन्धानसँगै सम्पदा संरक्षण, संरचनागत सुरक्षा, पर्यटनमार्फत आर्थिक विकास तथा परम्परागत नेवा: वास्तुकलामा रुचि राख्छन् । सार्वजनिक जीवनसँगै शाह सिर्जनात्मक क्षेत्रमा पनि सक्रिय छन् । उनी २५ भन्दा बढी गीत सार्वजनिक गरिसकेका र्याप कलाकार , कवि तथा लेखकसमेत हुन् ।
उनले पछिल्लो गीत ‘जय महाकाली’ सार्वजनिक गरेका छन् ।