पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको पक्राउबारे एमालेले औपचारिक प्रतिक्रिया दिँदा कांग्रेसले भने अझै औपचारिक प्रतिक्रिया दिएको छैन ।
एमालेको सचिवालयको आकस्मिक बैठकपछि महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका लेखकलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । प्रतिशोधपूर्ण रूपमा पक्राउ गरिएको भन्दै बैठकले दुवैको रिहाइको माग गर्ने निर्णय गरेको हो । ओली पक्राउको राजनीतिक प्रतिवाद र कानुनी लडाइँ लड्ने एमालेको भनाइ छ । तर, लेखक पक्राउ परे पनि कांग्रेसले औपचारिक धारणा दिएको छैन ।
कांग्रेस संस्थापनभन्दा फरक समूहमा रहेपछि पनि कांग्रेसलाई लेखकबारे औपचारिक धारणा बनाउन कठिन परेको छ । किनकि, विशेष महाधिवेशनलाई साथ नदिएका लेखक निर्वाचनमा खुलेका थिएनन् । टिकट नपाएका उनले खुलेर प्रचार र विरोधमा नलाग्ने नेतामा पर्छन् । लेखक पूर्वसभापति शेरबहादुर देउवाको पक्षका नेता हुन् ।
यद्यपि, कांग्रेसले औपचारिक बैठक राखेर लेखकको पक्राउबारे धारणा बनाउने जनाएको छ । सांसदहरूको प्रशिक्षणका लागि शीर्ष नेता पनि सहभागी हुने बैठकबाट कांग्रेसले लेखकबारे धारणा बाहिर ल्याउन तयारी गरेको छ ।
ओलीको पक्राउमा एमालेको अधिकांश नेताले सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । तर, लेखकको पक्षमा कांग्रेसले नेताहरूले कुनै प्रतिक्रिया दिएका छैनन् । नेता नैनसिंह महरसहितका केही नेताले राजनीतिक प्रतिशोध साँधिएको भन्दै विरोध गरेका छन् ।
गत २३ भदौमा भएको जेन–जी प्रदर्शनमा प्रहरीको गोली लागेर युवा मारिएपछि तत्कालीन गृहमन्त्री लेखकले राजीनामा दिएका थिए । तर, गौरीबहादुर कार्कीको जाँचबुझ आयोगले ओली र लेखकलाई कारबाहीको सिफारिस गरेपछि वालेन्द्र शाह नेतृत्वको सरकारले दुवैलाई आज बिहान पक्राउ गरेको हो ।