दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ श्रीपुरमा जंगली जनावरको आतंक बढ्दै जाँदा स्थानीय किसानहरू चिन्तित बनेका छन्। विशेषगरी बँदेल लगायतका जंगली जनावरले पाक्नै लागेको बालीनाली नष्ट गर्न थालेपछि किसानहरूको मेहनत खेर जाने अवस्था सिर्जना भएको छ।
स्थानीय अनिलचन्द्र पन्तका अनुसार जंगली जनावरहरू प्रायः रातिको समयमा बाली खेतमा प्रवेश गरी पाक्न लागेको अन्नबाली खाने गरेका छन्। “पाक्ने बेलामा बाली जोगाउन निकै गाह्रो भएको छ,” उनले भने, “राति पहरा बस्दा पनि जंगली जनावर धपाउन कठिन भइरहेको छ।”
किसानहरूले बाली जोगाउन राति पालैपालो पहरा दिने गरेका छन्। तर, निरन्तरको प्रयासका बाबजुद पनि जनावरले क्षति पुर्याउन छाडेका छैनन्। यसले स्थानीय कृषकहरूको चिन्ता झनै बढाएको छ।
स्थानीय बासिन्दाहरूले जंगली जनावर नियन्त्रण तथा व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न स्थानीय सरकारसँग माग गरेका छन्। उनीहरूले सम्बन्धित निकायले छिट्टै पहल नगरे अझ ठूलो क्षति व्यहोर्नु पर्ने चेतावनी दिएका छन्।