बैतडीले खोजेको नयाँ अनुहार : एसपी भट्टप्रतिको युवाको आशा

दार्चुला– कलेजको सामान्य विद्यार्थी राजनीतिबाट उदाएका र नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आफ्नो बलियो पहिचान बनाएका युवा नेता एसपी भट्टले सक्रिय पार्टी राजनीतिबाट विश्राम लिँदै नयाँ सामाजिक र राजनीतिक यात्राको घोषणा गरेका छन्। साहस, संघर्ष र नेतृत्वको पर्याय मानिने भट्टको यो अप्रत्याशित निर्णयले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ।  कैलाली जिल्लामा नेविसंघको संगठनलाई मजबुत बनाउन निर्णायक भूमिका खेलेका भट्टले सधैं विद्यार्थीको हकहितलाई केन्द्रमा राखे। काठमाडौंमा “Empowering Democracy: Connecting MPs with Students” जस्तो ऐतिहासिक कार्यक्रम सञ्चालन गरेर उनले नीति निर्माता र विद्यार्थीबीच संवादको नयाँ ढोका खोलेका थिए। भट्ट केवल भाषणमा मात्र सीमित रहेनन्। भारतको ओडिसास्थित ‘के आइ आइ टी युनिभर्सिटी’ मा अध्ययनरत नेपाली विद्यार्थीहरू समस्यामा पर्दा उनी स्वयं रक्सौल सीमासम्म पुगेर उद्धारमा खटिएका थिए। उनको यो मानवीय संवेदना र सक्रियताले धेरैको मन जित्न सफल भएको थियो।  लामो समयसम्म पार्टीको झण्डा बोकेर संघर्ष गरेका भट्टले अचानक पार्टी परित्याग गर्ने निर्णय गर्दा धेरैले यसलाई ‘मूल्यांकनको अभाव’ वा ‘परिवर्तनको चाहना’ का रूपमा हेरेका छन्। निकट स्रोतका अनुसार, पार्टीको सीमित घेराभित्र रहेर समाज परिवर्तनको ठूलो सपना पूरा नहुने देखेपछि उनले यो कठोर तर दूरगामी निर्णय लिएका हुन्। पार्टीको सक्रिय राजनीतिबाट अलग भए पनि भट्टको सार्वजनिक जीवन भने अझ सशक्त हुने देखिएको छ। उनी अब आफ्नो पुर्ख्यौली घर बैतडीको दशरथचन्द नगरपालिकाको विकास र समृद्धिका लागि केन्द्रित हुने तयारीमा छन्।

विगतमा पनि दशरथचन्द नगरपालिकाका विभिन्न विद्यालयमा पुगेर विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री र लत्ताकपडा वितरण गर्दै आएका भट्ट त्यहाँको पर्यटन प्रवर्द्धनमा समेत सक्रिय रहँदै आएका छन्। अब उनी घर-घरमा पुगेर स्थानीयका समस्या बुझ्ने र शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक न्यायका लागि काम गर्ने योजनामा छन्। उनका अनुयायी र स्थानीय युवाहरू भट्टले अब दशरथचन्द नगरपालिकाको नेतृत्व सम्हालेको हेर्न चाहन्छन्। “हामीलाई पुरानो ढर्राको होइन, नयाँ जोश र विकासको संस्कार भएको नेतृत्व चाहिएको छ। एसपी भट्टमा त्यो क्षमता र भिजन छ,” उनका एक समर्थकले बताए।  बैतडीको सदरमुकामसमेत रहेको दशरथचन्द नगरपालिकाको मुहार फेर्ने, युवालाई स्वरोजगारसँग जोड्ने र सबै पुस्तालाई समेटेर अघि बढ्ने उनको आगामी लक्ष्य रहेको छ। संघर्षबाट खारिएका यी युवा नेताको नयाँ यात्राले बैतडीमा मात्र होइन, समग्र सुदूरपश्चिमको युवा राजनीतिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।


Leave A Reply

Your email address will not be published.