दार्चुला । सुदूरपश्चिममा कोरोना भाइरसको जोखिमपछि ठप्प सवारी चालक अनुमती पत्रको परीक्षा सञ्चालन हुने भएको छ।
यातायात व्यवस्था विभागको निर्देशनपछि सुदूरपश्चिममा पनि कोरोनाका कारण रोकिएको लाइसेन्सको परीक्षा सञ्चालन हुने भएको हो। यातायात व्यवस्था कार्यालयहरु पनि अहिले ट्रायल र लिखित परीक्षाका लागि तयारीमा जुटेका छन्।
ट्रायल र लिखित परीक्षा सञ्चालनका लागि सूचना जारी गरेको यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले बताउनुभयो। ‘विभागको कार्यविधि अनुसार भदौ २५ गते बाट लाइसेन्सका रोकिएका परीक्षा सुरु हुने भएका छन्,’ उहाले भन्नुभयो, ‘स्वास्थ्यका मापदण्ड पालना गरेर रोकिएका परीक्षा सुरु गर्दैछौ।’
सुदूरपश्चिममा यातायात व्यवस्था कार्यालय धनगढी र महेन्द्रनगरले लाइसेन्स वितरण गर्दै आएका छन्। कोरोना जोखिमपछि भने दुबै कार्यालयबाट प्रदान हुने सेवा बन्द भएको थियो। यसको मारमा सवारी चलाउन योग्य भएका चालक परेका छन्। लाइसेन्सका लागि यातायात कार्यालय धनगढीमा ११ हजार बढीले आवेदन दिएका छन्।
जसमा ६ हजार बढीले लिखित परीक्षा दिन पाएका छैनन् भने ५ हजार बढी प्रयोगात्मक परीक्षाको पर्खाइमा बसेका छन्। उता मेहन्द्रनगरमा पनि तीन हजार ५ सय जनाले लिखित र प्रयोगात्मक परीक्षा दिनका लागि आवेदन दिएको यायाताय व्यवस्था कार्यालय महेन्द्रनगरका प्रमुख विनोदकुमार मालीले जानकारी दिनुभयो।
‘यो महिनाको अन्तिम साता अथवा अर्को महिनाको पहिलो साता सूचना निकाल्ने योजना छ,’ उहाले भन्नुभयो, ‘अहिले ट्रायल फिल्ड मर्मतको काम भइरहेको छ।’ यतायात व्यवस्था कार्यालय धनगढीले आउदो २५ गतेदेखि विगतमा रोकिएका लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्नका लागि सूचनासमेत जारी गरिसकेको छ। तर महेन्द्रनगरले भने भदौको अन्तिम सातापछि मात्रै सूचना सार्वजनिक गर्ने जनाएको छ।
विगतमा रोकिएको परीक्षा सञ्चालन हुने भए पनि नयाँ आवेदन खुल्ने विषयमा भने अन्योल छ। ‘अहिले कोरोनाका कारण रोकिएको काम सम्पन्न गर्ने योजना छ,’ यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख शाहले भन्नुभयो ‘नयाँ आवेदन खोल्ने विभागले नै हो, पुरानो काम सकिएपछि खोल्छ होला।’