सुदूरपश्चिम प्रदेश सरकारको योजना तर्जुमा दिग्दर्शन सार्वजनिक

दार्चुला । सुदूरपश्चिम सरकार गठन भएको साढे तीन वर्षपछि योजना तर्जुमा दिग्दर्शन तयार पारिएको छ। प्रदेश नीति तथा योजना आयोगले योजना तर्जुमा दिग्दर्शन तयार गर्दै सार्वजनिक गरेको हो। शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा योजना तर्जुमा दिग्दर्शन २०७८ सार्वजनिक गरिएको हो।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउँदले योजना तर्जुमा दिग्दर्शन सार्वजनिक भएसंगै अब योजना छनोट पारदर्शी हुने विश्वास व्यक्त गर्नुभयो। ‘विगतमा हचुवाको भरमा योजना छनोट हुँदै आएको थियो,’ साउदले भन्नुभयो, ‘अब योजना तर्जुमा दिग्दर्शन तयार भइसकेको छ। दिश्दर्शनमा कुन महिना के काम गर्ने भनेर स्पष्ट योजना बनाएका छौँ। यसलाई प्रदेशको पाश्र्वचित्र भन्दा फरक पर्दैन होला।’

उहाँले योजना तर्जुमा दिश्दर्शन तयार भएसंगै अब जनताबाट अनुमोदित योजना मात्रै कार्यान्वयनको चरणमा जाने विश्वास व्यक्त गर्नुभयो। ‘योजना तर्जुमा दिग्दर्शन तयार भएपछि अब हामी आवधिक योजना बनाउने तयारीमा जुटेका छौँ, आवधिक योजना पाँच वर्षको हुनेछ,’ उहाँले भन्नुभयो।

प्रदेश नीति तथा योजना आयोगका सचिव नारायण प्रसाद पौडेलले योजना तर्जुमा दिग्दर्शन तयार भएसंगै प्रदेशका मन्त्रालयले पनि अब सोहीअनुसार योजना छनोट गर्नुपर्ने बताउनुभयो। ‘योजना आयोगले योजना तर्जुमा गर्नका लागि दिग्दर्शन बनाएको हो, कार्यान्वयन गर्ने जिम्मेवारी प्रदेश सरकारको हो,’ उहाँले भन्नुभयो। २०७७ पुसमा गठन भएको नीति तथा योजना आयोगले चैतमा मात्रै अधिकार पाएपछि योजना तर्जुमा दिग्दर्शन बनाउन सुरु गरेको थियो।

विगतमा सुदूरपश्चिम प्रदेश सरकारले योजना छनोटका लागि मापदण्ड बनाउन नसक्दा पहुँचको भरमा योजना छनोट हुँदै आएको थियो। मापदण्ड नभएकै कारण प्रदेशका विभिन्न मन्त्रालय र मातहतका निकायबाट योजना किन्ने र कमिसनको भरमा उपभोक्तालाई बिक्री गर्ने परिपाटी थियो। तर योजना तर्जुमा दिग्दर्शन सार्वजनिक भएसंगै उक्त परिपाटी बन्द हुने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.