बैतडीका ग्रामीण कच्ची सडकमा सवारी सञ्चालन गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै तीन दिनसम्म बैतडीका ग्रामीण कच्ची सडकमा सवारी सञ्चालन गर्न रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय बैतडीले अविरल वर्षा र मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्लाभित्रका ग्रामीण कच्ची सडकमा सवारी सञ्चालनमा अस्थायी रुपमा रोक लगाएको जनाएको छ ।
प्रशासनले उक्त अवधिमा सम्भावित पहिरो, बाढी तथा सडक अवरुद्ध हुने जोखिम उच्च रहेकाले यात्रु र सवारी चालकको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ। पक्की सडकमा समेत अत्यन्त सावधानी अपनाएर मात्र सवारी सञ्चालन गर्न सबै चालकलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईद्वारा जारी सूचनाअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य प्रकोपका कारण बैतडीलाई उच्च जोखिमयुक्त जिल्लाको सूचीमा राखेपछि साउन २ गते शनिबार बेलुका ६ बजेदेखि साउन ४ गते सोमबार बिहान ६ बजेसम्म ग्रामीण कच्ची सडकमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले कुनै पनि विपद् वा आपत्कालीन अवस्थाको जानकारी तथा तत्काल उद्धारका लागि राष्ट्रिय आपत्कालीन नम्बर १२३४, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल नेपाल १११४ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।
मनसुन सक्रिय भएसँगै देशका विभिन्न जिल्लामा बाढी, पहिरो र सडक अवरोधका घटना बढिरहेका बेला बैतडी प्रशासनले जारी गरेको यो निर्णयलाई नागरिकको सुरक्षाका लागि अपनाइएको पूर्वसावधानीपूर्ण कदमका रूपमा हेरिएको छ। प्रशासनले मौसमको अवस्थाबारे निरन्तर जानकारी लिन र अत्यावश्यक बाहेक जोखिमपूर्ण यात्रा नगर्न पनि सबैमा अपिल गरेको छ।
यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले देशका विभिन्न प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले शनिबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानका आधारमा साउन २ गते शनिबार र ३ गते आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ। हिमाली तथा पहाडी भू–भागका साथै बागमती, मधेश र अन्य तराईका केही क्षेत्रमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ।