कञ्चनपुर
च्याउ, पटपुरा टिप्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (वनजंगल) पसेका कञ्चनपुरका २० महिला सम्पर्क बिहिन भएका छन । आइतबार बिहान ११बजेतिर च्याउ, पुटपुरा टिप्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (वनजंगल) पसेका कञ्चनपुरका २० महिला सम्पर्क बिहिन भएका हुन ।
बर्षातसंगै च्याउ, पटपुरा सहितका तरकारीको जोहो गर्नका लागि जंगल पसेका बेलडाँडी, बेदकोट र भीमदत्त नगरका महिला हराएका हुन ।
बेलडाँडी गाँउपालिका २ का कालिकिचका ३, बेदकोट नगरपालिका १० चतहरीनयाँ गाँउका ३ र भीमदत्त नगरपालिका १९ बागफाँटाका १४ महिला दुईदिनदेखि सम्पर्क बिहिन भएपछि परिवारले खोजविनका लागि आग्रह गरेका छन ।
बर्षातका बेला वनमा पाईने पटपुरा, च्याउ, जिब्रे सहितका तरकारीको जोहो गर्नका लागि उनीहरु समुह समुह बनाएर निकुञ्ज प्रवेस गरेका थिए । भीमदत्त नगरपालिका १९ का वडाध्यक्ष जगुराम चौधरीले बागफाँटाका महिला मालुबेला पोष्ट हुदै निकुञ्ज प्रवेस गरेको बताए ।
कतिपयले मोवाईल समेत नबोकेको र बोकेकाहरुसंग पनि नेटवर्क नलागेको, बर्षातले ब्याट्री समेत सकिएकाले खोजबिनमा समस्या भईरहेको अध्यक्ष चौधरीले बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी डिएसपी टेक बहादुर रावतले निकुञ्जको जंगलमा हराएका महिलाहरुको खोजिकार्य भईरहेको बताए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निकुञ्जका कर्मचारी सहित स्थानीयले खोजबिन गरिरहेका छन । सन्तान र घर परिवारका लागि तरकारीको जोहो गर्न जोखिम मोलेर जंगल पसेका आमाहरु घर नफर्किएपछि दुदे बालकदेखिका घरपरिवार चिन्तित भएका छन । आर्थिक रुपमा विपन्न नहुँदा तरकारीको समेत वनमाथिकै भर पर्दा आफन्त गुमाउनुपर्ने बाध्यता आईलागेकोछ ।