विश्व हिन्दु महासंघले भन्यो, ‘सुनसरी घटनाले धार्मिकद्वन्द्व चर्काउन खोजियो 

कञ्चनपुर ।

विश्व हिन्दु महासंघ राष्ट्रिय समितिले तराई क्षेत्रमा पछिल्ला दिनमा देखिएका धार्मिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनसरी जिल्लाको देवानगञ्ज क्षेत्रमा शिव आराधनामा संलग्न सनातनी भक्तजनमाथि भएको भनिएको आक्रमणप्रति चिन्ता व्यक्त गरेको हो।

 

विज्ञप्तिमा लामो समयदेखि हिन्दु र मुस्लिम समुदायबीच आपसी सद्भाव र भाइचाराको वातावरण कायम रहेको उल्लेख गर्दै पछिल्लो घटनाले धार्मिक द्वन्द्व सिर्जना गर्ने प्रयास भएको दाबी गरिएको छ। यस्ता घटनाले समाजमा विभाजन ल्याउन सक्ने भएकाले सबै पक्षलाई संयम अपनाउन महासंघले आग्रह गरेको छ।

महासंघले जात, वर्ग, क्षेत्र, लिङ्ग तथा समुदायबीचको आपसी सद्भाव र सहअस्तित्वलाई कमजोर बनाउने गतिविधिको पहिचान गरी त्यस्ता प्रयासलाई निरुत्साहित गर्न आवश्यक रहेको जनाएको छ। विभिन्न जिल्लामा भइरहेका यस्ता घटनालाई समाजमा धार्मिक वैमनस्य फैलाउने उद्देश्यले भइरहेको गतिविधिका रूपमा आफूहरूले बुझेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।त्यस्तै, राज्य, धार्मिक संघसंस्था, नागरिक समाज तथा राजनीतिक दलहरूको पहलबाट हालको अवस्था नियन्त्रणतर्फ उन्मुख रहेको भन्दै महासंघले सबै समुदायलाई संयमित भई शान्ति, सद्भाव र सहअस्तित्वको भावना कायम राख्न अपिल गरेको छ। घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महासंघले यस्ता घटना दोहोरिन नदिन राज्यले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुपर्ने माग गरेको छ।

 

साथै, नेपालमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै संवैधानिक प्रक्रियामार्फत देशलाई लोकतान्त्रिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने विषयमा समेत सुझाव प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त प्रेस विज्ञप्तिमा विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका उपाध्यक्ष शिरोमणि कुमार ओझाको हस्ताक्षर उल्लेख गरिएको छ ।

 

 

 

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.