दार्चुलामा छोटोदुरीका जीप व्यवसायीद्धारा भाडा पुन:समायोजन गर्न माग

दार्चुला । जिल्लामा छोटोदुरीमा सञ्चालन हुँदै आएका जीप व्यवसायीहरुले भाडादर पुन:समायोजन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका छन्।

जिल्ला सदरमुकाम खलंगादेखि दुहुँ, व्यास र मार्मा गाउँपालिकासम्म सेवा सञ्चालन गर्दै आएका छोटोदुरीका जीप व्यवसायीहरूले बुधबार प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल समक्ष भाडा समायोजनको मागसहित निवेदन पेश गरेका हुन् ।

व्यवसायीहरूले साउन १२ गते निर्धारण गरिएको नयाँ भाडादरले वर्तमान अवस्थामा बढ्दो इन्धन मूल्य, सवारी साधनको मर्मत–सम्भार, स्पेयर पाट्र्स, चालक तथा सहचालकको पारिश्रमिक लगायत सञ्चालन खर्च धान्न नसकेको बताएका छन्।
महँगी र सञ्चालन लागत निरन्तर बढ्दै गएकाले हालको भाडादरमा सेवा सञ्चालन गर्न कठिन भएको उनीहरूको भनाइ छ।

भाडादर समयमै पुन:समायोजन नभए सेवा सञ्चालनमै समस्या उत्पन्न हुन सक्ने उल्लेख गर्दै व्यवसायीहरूले यात्रु र व्यवसायी दुवैको हितलाई ध्यानमा राखी यथाशीघ्र आवश्यक निर्णय गर्न प्रशासनसँग आग्रह गरेका छन्।

उक्त निवेदनमा खलंगादेखि दुहुँ, व्यास र मार्मा गाउँपालिकासम्म जीप सञ्चालन गर्दै आएका करिब ३३ जना व्यवसायीहरूको हस्ताक्षर गरेका छन् ।

यता जिल्ला प्रशासन कार्यालय दार्चुलाले भने इन्धनको मूल्य, सडकको अवस्था, दूरी, सवारी साधनको प्रकार, मर्मत तथा सञ्चालन खर्च, बीमा, कर, चालक–सहचालकको पारिश्रमिक, भौगोलिक जटिलता तथा सार्वजनिक यातायातको उपलब्धतालगायतका आधारमा हालको भाडादर निर्धारण गरिएको जनाएको छ।

पुन: व्यवसायीहरूको निवेदनमाथि आवश्यक अध्ययन गरी सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाइने प्रजिअ वर्तराज पौडेलले जानकारी दिए ।

यो समाचार पनि पढ्नुस्–

दार्चुलामा छोटो दुरीका सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण (सूचीसहित)

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.