दुहुँमा विपन्न तथा आपत्कालीन अवस्थाका दुई प्रायोजित बालबालिकाका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका–५ का दुई प्रायोजित बालबालिकाका परिवारलाई आपत्कालीन स्वास्थ्य उपचार तथा राहतस्वरूप आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

गुड नेवर्स इन्टरनेशनल (जीएनआई) नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक ग्रामीण विकास समाज (सीआरडीएस) नेपाल, दार्चुलाको सहजीकरणमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत उक्त सहयोग प्रदान गरिएको हो।

दुहुँ गाउँपालिका–५ निवासी तथा ब्रह्म आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत प्रायोजित बालक सुरज लुहार गत असार ३१ गते घरको छतबाट खसेर देब्रे खुट्टाको हड्डी भाँचिएपछि गम्भीर घाइते भएका थिए। जिल्ला अस्पताल दार्चुलामा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि धनगढीस्थित कैलाली अस्पताल रिफर गरिएको थियो, जहाँ साउन ३ गते सफल शल्यक्रिया गरिएको थियो।

एकल आमाको सहारामा हुर्किरहेका तथा आर्थिक रूपमा विपन्न सुरजको परिवारले उपचार र यातायात खर्च जुटाउन ऋण लिनुपरेको अवस्थालाई ध्यानमा राख्दै संस्थाले ५० हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको हो। कुल १ लाख ३७ हजार ७८४ रुपैयाँ उपचार खर्चमध्ये बाँकी रकम परिवारले ऋण लिएर व्यहोरेको जनाएको छ।

सीआरडीएस नेपालका कार्यकारी निर्देशक अशोक राज ओझाले सहयोगस्वरूपको चेक सुरजकी आमा कौशा लोहारलाई हस्तान्तरण गरेका हुन्।

त्यसैगरी, सोही वडाकी प्रायोजित बालिका जेनिशा महरालाई गत असार १० गते आकस्मिक स्वास्थ्य समस्या देखिएपछि जिल्ला अस्पताल दार्चुला, सेती प्रादेशिक अस्पताल धनगढी हुँदै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), काठमाडौं लगिएको थियो। परीक्षणका क्रममा उनको मस्तिष्कमा गम्भीर ब्रेन ट्युमर देखिएको र उपचार सम्भव नभएको चिकित्सकहरूले बताएपछि घर फर्काइएकी जेनिशाको असार ३१ गते निधन भएको थियो।

दिवंगत बालिकाको परिवारलाई उपचारका क्रममा काठमाडौंसम्मको यात्रा तथा उपचार व्यवस्थापनका लागि ४३ हजार ९२४ रुपैयाँ र काजकिरिया खर्च व्यवस्थापनका लागि थप १० हजार रुपैयाँ बराबरको राहत सामग्री गरी कुल ५३ हजार ९२४ रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको छ।

किरिया खर्चका लागि प्रदान गरिएको राहत सामग्री दुहुँ गाउँपालिका–५ का वडाध्यक्ष धन सिंह कुँवरले मृतक बालिकाकी आमा जानकी महरालाई हस्तान्तरण गरेका हुन्। राहत सामग्रीमा ५० केजी चामल, ५ लिटर खाने तेल, ४ केजी चिनी, ३ केजी दाल, १२ वटा साबुन र १० केजी पिठो समावेश रहेको थियो।

स्थानीय जनप्रतिनिधिहरूले विपन्न तथा सङ्कटमा परेका परिवारलाई गरिएको यस्तो सहयोगले उपचार तथा अन्य खर्चका कारण परेको आर्थिक भार कम गर्न र कठिन परिस्थितिमा ठूलो राहत पुगेको बताएका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.