संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार तीनवटा प्रज्ञा प्रतिष्ठानमा गरिएको पदाधिकारीको नियुक्त सार्वजनिक गर्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारीहरू नियुक्त गरे । तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, परषद् सदस्य र सभा सदस्य नियुक्त गरिएको हो ।
तर, नियुक्तिमा सुदूरपश्चिम उपेक्षामा परेको भन्दै विरोध हुन थालेको छ । तीनवटै प्रतिष्ठानमा तीन–तीन कुलपति, उपकुलपति र सदस्य सचिव तथा २० जना परिषद् सदस्य नियुक्त गरिएकोमा सुदूरपश्चिम भने निल छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्यसचिव तथा आठ जना परिषद् सदस्य तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव तथा छ–छ जना परिषद् सदस्यको नियुक्ति भएको छ । सुदूरपश्चिमबाट एक जना पनि परिषद् सदस्य नियुक्ति नगरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वले सिंगो प्रदेशलाई नै उपेक्षा गरेको भन्दै विरोध हुन थालेको हो ।
डेउडा गायक चक्र बमले काली–कर्णालीप्रति सरकारको व्यवहार ठीक नभएको बताएका छन् । ‘माननीय संस्कृतिमन्त्री गनेश पौडेलज्यूले सुदूरपश्चिम प्रदेशबाट प्राज्ञ परिषद्को सदस्य बन्न योग्य कुनै पनि व्यक्तिलाई देख्नुभएन, त्यसका लागि धन्यवाद मन्त्रीज्यू,’ बलमे सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली भाषाको जननी काली–कर्णालीप्रतिको यस्तो व्यवहार हामीले अझै कति समयसम्म सहेर बसिरहनुपर्ने हो ?’
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसभा सदस्य जनक रसिकले वर्तमान सरकारले पनि सुदूरपश्चिमलाई उपेक्षा गरेको बताए । ‘साहित्य साधना र कला संस्कृतिका दृष्टिकोणले सुदूरपश्चिम अगाडि छ,’ उनले भने, ‘तर, विगत र अहिलेका शासकले सुदूरपश्चिमलाई अवसर दिन कन्जुस्याइँ गर्दै आएका छन् । प्रतिष्ठानमा पनि त्यसैको निरन्तरता गरियो ।’
साहित्यकार रसिकका अनुसार शासकका नजरमा सुदूरपश्चिम क्षेत्र सदियौँदेखि अपहेलित हुँदै आएको छ । ‘बाइसे–चौबिसे राज्य हुँदादेखि नै यो क्षेत्र अपहेलनामा पर्दै आएको छ,’ उनी भन्छन्, ‘त्यसबेला अन्य राज्यले आत्मसमर्पण गर्दा पनि डोटेली राज्य लडेको थियो । सोही समयदेखि यस क्षेत्रमा अवसर नदिए पनि हुन्छ भन्ने मानसिकता विकसित भएको हो । गणतन्त्रपछिका शासकले पनि त्यसैलाई निरन्तरा दिए ।’
हुन् त मदन पुरस्कार विजेता साहित्यकार रामलला जोशीको नाम नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवमा टुंगो लागिसकेको थियो । तर, अन्तिम समयमा उनलाई सदस्य सचिवबाट ‘ब्याक’ भएर सदस्य मात्रै बस्न आग्रह भएपछि उनले अस्वीकार गरेको बताएका छन् ।
सभा सदस्यमा सुदूरपश्चिमका आठ जना नियुक्त
तीनवटै प्रतिष्ठानको परिषद्मा सुदूरपश्चिम निल भए पनि सभा सदस्यमा भने आठ जना नियुक्त भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा छ तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान एक–एक जना सभा सदस्य नियुक्त भएका हुन् ।
कैलालीका मोहित जोशी, किरण पौडेल र हरिप्रिया श्रेष्ठ, कञ्चनपुरका श्यामसुन्दर ढकाल र खडककुमारी गिरी तथा डोटीकी हेमन्ती जोशी नेपाल प्रज्ञा प्रतिष्ठानको सभा सदस्यमा नियुक्त भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कैलालीका दीपक आउजी र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कञ्चनपुरकी रेखाकुमारी जोशी सभा सदस्य नियुक्त भएका छन् ।

