आफ्नो आवश्यकता अनुसार मात्र ग्यास किन्न दार्चुला प्रशासनको आग्रह, अटेरी गरे कारबाही

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन उपभोक्ताले आफ्नो आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न प्रशासनले अनुरोध गरेको हो।

शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलद्वारा जारी सार्वजनिक सूचनामा देशभर ग्यास आपूर्तिमा उचित समन्वय हुन नसकेको तथा केही विक्रेताले कृत्रिम अभाव सिर्जना गरेको भन्ने उपभोक्ताको गुनासो आइरहेको उल्लेख गरिएको छ।

प्रशासनले ग्यास विक्रेतालाई पनि उपभोक्ताको आवश्यकताका आधारमा समन्वयात्मक रूपमा ग्यास बिक्री–वितरण गर्न निर्देशन दिएको छ। साथै, ग्यास बिक्री गरिएका उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बरसमेत समावेश भएको दुरुस्त विवरण राख्न भनिएको छ।

अति आवश्यक अवस्थामा पनि ग्यास प्राप्त गर्न नसकेमा जिल्ला प्रशासन कार्यालयमा सोझै जानकारी गराउन प्रशासनले उपभोक्तालाई आग्रह गरेको छ।

त्यस्तै, ग्यास मौज्दात हुँदाहुँदै बिक्री नगर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, नियमविपरीत बिक्री–वितरण गर्ने वा तोकिएको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गर्ने गरेको पाइएमा सम्बन्धित ग्यास डिलर तथा विक्रेतालाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

दार्चुलामा समेत केही उपभोक्ताले ग्यास प्राप्त गर्न समस्या भएको भन्दै गुनासो गरेपछि आपूर्ति व्यवस्थापनलाई सहज बनाउन प्रशासनले सार्वजनिक सूचना जारी गरेको जनाएको छ।

बजारमा ग्यास सहजै नपाएको भन्दै उपभोत्ताबाट निरन्तर गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले शनिबार सार्वजनिक सूचना नै जारी गरेको हो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.