एनपीएल–२०२६ का लागि सुदूरपश्चिम रोयल्समा सेफ अली जैबको पुनरागमन

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)–२०२६ का लागि इङ्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।

एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले नौ खेलमा दुई अर्धशतकसहित दुई सय ७५ रन बनाउनुका साथै १२ विकेट लिएका थिए।

राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले इङ्ल्यान्डको घरेलु क्रिकेटमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। बाँयाहाते ब्याटर जैबले टी–२० क्रिकेटमा एक सय १२ खेलबाट एक हजार सात सय ९२ भन्दा बढी रन बनाएका छन्। उनको स्ट्राइक रेट एक सय ४० भन्दा माथि छ।

भाइटालिटी ब्लास्टमा मात्रै उनले १६ सयभन्दा बढि रन बनाइसकेका छन्। स्लो लेफ्ट–आर्म बलरका रूपमा समेत प्रभावशाली रहेका जैबले टी–२० क्रिकेटमा २३ विकेट लिएका छन्।

जैबले हालै भाइटालिटी ब्लास्ट र द हन्ड्रेडमा समेत सहभागिता जनाएका छन्। “म फेरि आफ्नो घरमा फर्कन पाउँदा निकै खुसी छु र नेपालमा आएर फेरि खेल्न निकै उत्साहित छु,” जैबले भनेका छन्। सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो । यस्तै सुदूरपश्चिम अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अनुवन्ध गरेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.