विदेशी राजदूतलाई भेट्दै बालेन, भारतीय राजदूत पहिलो नम्बरमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटघाट गर्ने भएका छन् । सामूहिक रूपमा एक पटक सबैसँग भेट गरिसकेका उनले अब भने एक्लाएक्लै भेटघाट गर्न थालेका हुन् ।

यसअघि प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट गर्न अस्वीकार गर्दै आएका थिए । सोमबारदेखि उनले विभिन्न देशका राजदूतसँग छुट्टाछुट्टै भेटघाट गर्दै छन् । सुरुवातमा भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटघाट हुने भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान भारतीय राजदूत श्रीवास्तवसँग भेटघाट गरेपछि प्रधानमन्त्री बालेनले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट्ने र त्यसपछि अमेरिकालगायतका राजदूतहरूसँग भेट्ने योजना छ ।

चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनलाई शुभकामना तथा बधाइ दिन राजदूतहरूले समय माग गरेका थिए । यद्यपि उनले कसैलाई नभेटी चैत २५ गते एकैपटक सबै देशका राजदूतसँग सामूहिक भेटघाट गरेका थिए । सोही क्रममा परराष्ट्र मन्त्रालयमार्फत नेपालको विदेश नीतिबारेमा पनि जानकारी गराएका थिए ।

सामूहिक भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र संघका राजदूत तथा नियोग प्रमुखहरू उपस्थित थिए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.