गगनलाई पूर्णबहादुरको अपिल : पार्टी एकताका लागि अग्रिम मोर्चामा आउनुस्, हामी सहयोग गर्छाैं

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरावलोकनको निस्सा पार्टी एकताका लागि ‘अन्तिम अवसर’ भएको बताएका छन् । खड्काले सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनका लागि दिएको निस्सा कांग्रेसलाई एकताबद्ध गर्ने अन्तिम अवसर भएको बताएका हुन् ।

सामाजिक फेसबुकमार्फत आइतबार अपिल जारी गर्दै खड्काले पछिल्ला तीन दिनमा पार्टीकै नेताकार्यकर्ताबाट सामाजिक सञ्जालमा आएका टीका–टिप्पणीले आफूलाई चिन्तित बनाएको बताएका हुन् । ‘पार्टीको आधिकारिकताको विवादका विषयमा सम्मानित सर्वाेच्च अदालतले हामीलाई निस्सा दिएपछिको तीन दिनका सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट लेखिएका विचार, टीका–टिप्पणी हेर्दा साह्रै चिन्तित बनाएको छ,’ खड्काले लेखेका छन् ।

उनले मुलुकको राष्ट्रियता संकटापन्न अवस्थामा पुगेको, लोकतान्त्रिक संविधानमाथि षड्यन्त्र भइरहेको र कांग्रेस इतिहासकै कमजोर तथा प्रतिकूल अवस्थामा रहेको भन्दै अहिलेको पहिलो आवश्यकता पार्टीको सम्पूर्ण एकता भएको उल्लेख गरेका छन् ।

पार्टीभित्र सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना विकास गरी संवाद र सहमतिमार्फत सुदृढ एकता कायम गर्नुपर्ने खड्काको भनाइ छ । उनले पार्टीका जिम्मेवार व्यक्तिहरूलाई व्यक्तिगत महत्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाका साथ एकताका लागि निर्णायक अग्रसरता लिन आग्रह गरेका छन् ।

उनले पार्टी सभापति गगन थापालाई विशेष आग्रह गर्दै तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रसर हुन अपिल गरेका छन् । ‘पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष–विशेष आग्रह र अनुरोध छ, तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रिम मोर्चामा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौँ र बन्छौँ । तर यहाँनिर स्पष्ट हुन जरुरी छ, निर्णायक तपाईं हो–तपाईं ! पार्टी एकताका लागि वातावरण निर्माण गर्नका लागि पार्टीका र भ्रातृ–शुभेच्छुक संस्थाका सबै तहका नेता साथीहरूलाई विशेष अनुरोध अनि अपिल’, उनले लेखेका छन् ।

खड्काले राष्ट्र रहे बहुदलीय लोकतन्त्र र पार्टी रहने भन्दै सामाजिक सञ्जालमा हुने दोहोरी, गालीगलौज र आरोप–प्रत्यारोप बन्द गर्न पनि आग्रह गरेका छन् । उनले आपसी विवाद र विभाजनले अन्ततः सबै कुरा ‘खरानी’ हुने चेतावनीसमेत दिएका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.