जिल्ला अस्पताल दार्चुलाको भवन निर्माण कार्यलाई तीव्र पार्न निर्माण व्यवसायीलाई ताकेता

तोकिएको समयमै काम सक्न निर्माण व्यवसायीलाई निर्देशन

जिल्ला अस्पताल दार्चुलाको निर्माणाधीन नयाँ अस्पताल भवनको निर्माण कार्यलाई तीव्रता दिई तोकिएको समयमै भवन निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तोरन प्रसाद अवस्थीको अध्यक्षतामा बसेको बैठकले भवन निर्माणको हालसम्मको कार्य प्रगतिको समीक्षा गर्दै निर्माण कार्यलाई गति दिने निर्णय गरेको हो ।

बैठकले तोकिएको समयावधिभित्र निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायी/कम्पनी श्याम सुन्दर गोर्खा वाईआर जेभीलाई पुन: पत्राचार गरी ताकेता गर्ने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तोरन प्रसाद अवस्थीले जानकारी दिए ।

त्यस्तै, निर्माण कम्पनीलाई तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्ने स्पष्ट कार्ययोजना तथा प्रतिबद्धता पत्र आयोजना कार्यालय र अस्पताल प्रशासनसमक्ष पेश गर्न निर्देशन दिइएको उनले बताए ।

निर्माण कार्यलाई सहज र द्रुत गतिमा अघि बढाउन निर्माण व्यवसायी, अस्पताल व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय दार्चुलाबीच आवश्यक समन्वय, सहकार्य तथा सहजीकरण गर्ने निर्णय समेत बैठकले गरेको छ ।

निर्माणाधीन नयाँ अस्पताल भवनको समयसिमा आगामी पौष मसान्तसम्म भवन निर्माण कार्य सक्नका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले आवश्यक पर्ने जनशक्ती सहित निर्माण सामग्री उपलब्ध गराउने भएको छ ।

यस्तै सम्बन्धित निकायले भवन निर्माणमा देखिएका समस्या समाधान गर्दै निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गराउने प्रतिबद्धता जनाएका छन्। अस्पताल भवन निर्माणका लागि आर्थिक वर्ष २०७८/०७९ को असार २४ गते सम्झौता भएको थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविन्द्र भट्टराई, सघन सहरी विकास तथा भवन निर्माण आयोजना बैतडीका आयोजना प्रमुख इन्जिनियर झक्क बहादुर थापालगायत अधिकारीहरूको उपस्थिति थियो।अस्पतालको भवन निर्माणमा लापर्बाही भइरहेको भन्दै यहाँको नागरिक समाजले आपत्ति जनाएको छ । ५० शैय्याको जिल्ला अस्पतालमा हाल २८ वटा शैय्या मात्रै सञ्चालनमा छन् ।

जिल्ला अस्पताल दार्चुलाको चार तले भवन निर्माणका लागि सङ्घीय सरकारले चौबिस करोड रुपियाँ विनियोजना गरेको थियो । २०७० सालमा महाकाली नदीमा आएको बाढीले अस्पतालको जमिन बगाएको थियो, भने भवनमा समेत क्षति पुर्‍याएको थियो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.